सरकारमा जान एकीकृत समाजवादीले बनायो कार्यदल

सरकारमा जान एकीकृत समाजवादीले बनायो कार्यदल

रोजाइमा कृषि, सिँचाइ र खेलकुद मन्त्रालय



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले तीन मन्त्रालयमा दाबी पेस गर्ने तयारी गरेको छ । संघ र प्रदेश सरकार गठनमा आवश्यक पहल गर्ने गरी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल रहेको कार्यदल समेत गठन गरिएको छ ।

कार्यदलको प्रारम्भिक छलफलमा जनतासँग जोडिएर काम गर्ने मन्त्रालय आफूले लिनुपर्ने सुझाव आएको बताइएकाे छ ।

जनतासँग जोडिएर बढीभन्दा बढी काम गर्न सकिने मन्त्रालय लिनुपर्छ भन्ने सुझाव आएकोले त्यसरी काम गर्नका लागि कृषि, ऊर्जा तथा सिँचाइ र युवा तथा खेलकुद मन्त्रालय हुनसक्छन् भन्ने बारेमा छलफल भएको छ ।

एकीकृत समाजवादीले पाउने मन्त्रालयको संख्याका विषयमा भने खुलाइएकाे छैन् । दाबी गर्ने मन्त्रालय सरकारमा सहभागी दलहरूको संख्याका आधारमा निर्धारण हुने बताइएकाे छ ।

कुन नीति तथा कार्यक्रम र कुन हिस्सेदारीमा सरकारमा जाने भनेर छलफल भएको उपमहासचिव जगन्नाथ खतिवडाले बताए । कार्यदलले गठबन्धनका अरु दलहरुसँग छलफल गर्नेदेखि आफ्नो दलको तर्फबाट को को सरकारमा जाने भनेर छलफल गर्ने खतिवडाले बताएका छन् ।