काठमाडौं । सत्ता साझेदार दलहरू सरकार गठनको गृहकार्यमा जुटेका छन् । पार्टी भित्रको आन्तरिक छलफलसँगै उनीहरुले दुईपक्षीय एवं बहुपक्षीय छलफललाई पनि तिब्रता दिएका छन् ।
सरकारमा सहभागिताको विषयलाई लिएर दलहरुले पार्टी बैठकलाई निरन्तरता दिइरहेका छन् भने पार्टी निर्णयलाई गठबन्धन बैठकमा पेस गरेर आ-आफ्ना दाबी प्रस्तुत गरिरहेका छन् ।
सरकार विस्तारकै सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहयात्री दलका शीर्ष नेताहरुसँग औपचारिक एवं अनौपचारिक छलफल गरिरहेका प्रधानमन्त्रीका प्रेस संयोजक मनहरी तिमिल्सिनाले जानकारी दिए ।
प्रधानमन्त्रीले आफूलाई विश्वासको मत दिने सबै दललाई समेटेर एकदुई दिनभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने आफ्नो तयारीबारे दलहरुलाई जानकारी गराएका थिए ।
माओवादी केन्द्रका महासचिव देव गुरुङले सरकार गठनको प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीले आवश्यकताअनुसार दलसँग परामर्श गरिरहेको बताए । सत्ता साझेदार दलहरुबीच सहमति र सहकार्यकैा आधारमा मन्त्रिपरिषद् विस्तारको विषय टुङ्गोमा पुग्ने उनको भनाइ छ ।
कांग्रेसले सबै क्षेत्र, भूगोल, प्रदेश, जातजाति र समुदायको प्रतिनिधित्व हुनेगरी सरकारमा मन्त्रीहरु पठाउने निर्णय गरिसकेको छ । प्रमुख मन्त्रालयमा दाबी रहने बताउदै आएको नेकपा (एकीकृत समाजवादी) ले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल नै गठन गरेको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले सरकारमा सम्मानजनक उपस्थिति हुनुपर्ने बताउदै सम्वादका लागि पार्टी अध्यक्ष महन्थ ठाकुरलाई जिम्मेवारी प्रदान गरेको छ । प्रधानमन्त्री प्रचण्डले चैत ६ गतेको प्रतिनिधि सभा बैठकबाट दोस्रोपटक विश्वासको मत प्राप्त गरेका हुन् ।


प्रतिक्रिया