राष्ट्रपतिको राजनीतिक सल्लाहकारमा सुनिल थापा नियुक्त

राष्ट्रपतिको राजनीतिक सल्लाहकारमा सुनिल थापा नियुक्त



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकारमा कांग्रेस नेता सुनिल थापा नियुक्त भएका छन् ।

कांग्रेसका पूर्व सहमहामन्त्री थापा अहिले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्य छन् । थापा राप्रपाका संस्थापक नेता पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् । उनीले २०७७ कात्तिकमा कांग्रेस प्रवेश गरेका हुन् ।

गत निर्वाचनमा धनकुटामा एमालेका राजेन्द्र राईसँग झिनो मतान्तरले पराजित भएका थापा मन्त्री सरहको सेवा सुविधा पाउने गरी राष्ट्रपतिको सल्लाहकार नियुक्त भएका छन् । राष्ट्रपति पौडेलले बिहीबार मात्र आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल र कानुनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त गरेका थिए । नेपाल पूर्व गभर्नर हुन भने कुँवर गण्डकी प्रदेशका पूर्व प्रमुख हुन् ।

यसअघि राष्ट्रपतिको परराष्ट्र सल्लाहकारमा डा.सुरेश चालिसे र सचिवमा चिरञ्जीवी अधिकारी नियुक्त भएका थिए । यस्तै राष्ट्रपति पौडेलको मिडिया हेर्ने गरी नेपाल प्रेस युनियनका पूर्वसचिव खिला कार्की स्वकीय सचिवालयमा नियुक्त भएका थिए ।