स्वर्णिमलाई गोविन्दले भने : पाहुनाले डुली खाने सुविधा छ, राम्रो बास दिएर बिदा गरिदिनुस्

स्वर्णिमलाई गोविन्दले भने : पाहुनाले डुली खाने सुविधा छ, राम्रो बास दिएर बिदा गरिदिनुस्



काठमाडौं । तनहुँ क्षेत्र १ बाट कांग्रेसका उम्मेदवार रहेका गोविन्द भट्टराईले यस क्षेत्रमा कांग्रेसको जित अनिवार्य भएको बताएका छन् । उम्मेदवारी मनोनयनको अवसर पारी कांग्रेस तनहुँले दमौलीमा आयोजना गरेको कार्यक्रममा भट्टराईले यस्ताे बताएका हुन् ।

आफू राष्ट्रपति रामचन्द्र पौडेलको अनुयायी भएको र यही क्षेत्रमा आफू उभिएकोले कांग्रेसको जित अनिवार्य भएको दाबी गरेका हुन् । ‘रामचन्द्र दाइकै ४० वर्ष सहयात्री बनेका गोविन्द भट्टराईलाई सुम्पिने अवसर आज आएको छ। उहाँको अनुययी यहाँ उभिएको छु। उहाँले शुरु गर्नुभएको विकासलाई पुरा गर्न म तयार छु,’ भट्टराईले भने, ‘कांग्रेसको जित अनिवार्य छ। यो कांग्रेसको किल्ला हो, शहीदहरुले रगतले सिञ्चित जिल्ला हो। यो क्षेत्रमा कांग्रेसको जित सुनिश्चित छ।’

कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका डा स्वर्णिम वाग्लेलाई भट्टराईले पाहुनाको संज्ञा दिए । स्वर्णिमलाई डुली खाने अवसर भएको तर आफूलाई त्यस्तो सुविधा नभएकोसमेत उनको भनाई थियो ।

‘म पहुना लाएर जान्छु । कहिले पोखरातिर जान्छु। कहिले डुम्रेतिर जान्छु । पाहुनालाई अर्को घरमा पनि जाने सुविधा हुन्छ। तर घर चलाउनेलाई आफ्नै घरमा मिठो खान पाकोस् भन्ने चाहना हुन्छ । आफ्नै घरमा सम्मुनति आओस् भन्ने हुन्छ,’ चुनावी सभामा भट्टराईले भने, ‘त्यसैले पाहुनालाई राम्रो बास दिनुस्। भोट चाहि रुखलाई दिनुस्। गोविन्द भट्टराईलाई दिनुहोस् । किनभने पाहुनालाई जता पनि जाने सुविधा छ तर गोविन्द भट्टराईलाई छैन ।’

कांग्रेसले आफूलाई अर्को जिल्लामा जाने अफर गरे पनि आफू आफ्नै माटोमा केही गर्न भनेर बसेको उनको भनाई थियो । ‘मलाई पार्टीले अर्को जिल्लामा जाने अफर गरेको थियो । तर मैले यही धर्तीमा खेले। म क्षेत्रमा भोट दिन्छु भनेर यही बसें,’ उनले भने ।