उपनिर्वाचन हुने तीन क्षेत्रमा ६९ जनाको उम्मेदवारी

उपनिर्वाचन हुने तीन क्षेत्रमा ६९ जनाको उम्मेदवारी



काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि कुल ६९ जनाको उम्मेदवारी परेको छ । सोमबार भएको उम्मेदवारी मनोनयमा तीनै क्षेत्रमा गरी कुल ६९ जनाको उम्मेदवारी परेको हो ।

निर्वाचन आयोगका जिल्ला निर्वाचन अधिकारीहरूका अनुसार बारा क्षेत्र नम्बर २ मा ३६, चितवन क्षेत्र नम्बर २ मा २४ र तनहुँ क्षेत्र नम्बर १ मा ९ जनाको उम्मेदवारी परेको छ ।

जसमा बारा–२ दलका १२ जना र स्वतन्त्र २४ जना गरी ३६ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । बारामा नेकपा (एमाले)बाट पुरुषोत्तम पौडेल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाह, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेललगायतको उम्मेदवारी परेको छ ।

चितवन–२ मा दलका १२ र १२ जना स्वतन्त्र गरी २४ जनाको उम्मेदवारी परेको छ । नेकपा (एमाले)बाट रामप्रसाद न्यौपाने, नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतको उम्मेदवारी परेको छ ।

तनहुँ–१ मा दलका ९ जनाको उम्मेदवारी परेको छ । जसमा नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, नेकपा (एमाले) बाट सर्वेन्द्र खनाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शोभा गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्लेसहितको उम्मेदवारी परेको छ । तनहुँमा स्वतन्त्र उम्मेदवारी परेको छैन ।