जनप्रतिनिधिकै मिलोमतोमा अवैध उत्खनन, दुईवटा टिप्पर र एक जेसीभी प्रहरी नियन्त्रणमा

जनप्रतिनिधिकै मिलोमतोमा अवैध उत्खनन, दुईवटा टिप्पर र एक जेसीभी प्रहरी नियन्त्रणमा



सिरहा । अवैध रुपमा ग्राभेल उत्खनन गरिरहेका बेला सशस्त्र प्रहरीले दुईवटा टिप्पर र एउटा जेसीभी नियन्त्रनमा लिएको छ । जिल्लाको नरहा गाउँपालिका–३ नेपाली सेनाको २७ नम्वर बाहिनीसँगै टाँसिएको जग्गाबाट अवैध रुपमा रातको समयमा ग्राभेल उत्खनन गरिरहेको अवस्थामा ना १ ख ९७७९ नम्बरको जेसीभी, ना ८ ख ५४५४ र ना ३ ख ८६६२ नम्बरको टिप्पर सशस्त्र प्रहरी गोलबजारको टोलीले नियन्त्रणमा लिएको हो । 

अवैध रुपमा उत्खन्न गरिरहेको गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरीको टोलीले सोमबार राति करिब ११ बजेको समयमा जेसीभी र टिप्परलाई नियन्त्रनमा लिएको सशस्त्र प्रहरी निरीक्षक हेमन्त सिंहले जानकारी दिए । ‘सूचना पाउनासाथ हाम्रो टोली पुगेर टिप्पर र जेसीभी नियन्त्रणमा लियाैँ, आवश्यक कारबाहीको लागि जिल्ला समन्वय समितिलाई पत्र पठाइएका छौँ,’ उनले भने । 
 
समन्वय समिति प्रमुख दिनेश महतोले नियन्त्रणमा लिएको जेसीभी र टिप्परलाई कानुन बमोजिम कारबाही गर्ने बताइ । उनले भने, ‘विकास निर्माणको लागि ग्राभेल आवश्यक भए पनि प्रक्रिया मिचेर अवैध रुपमा रातिको समयमा उत्खनन गर्न मिल्दैन । यस्तो कार्य जोकोहीले गरेको भए पनि गलत हो । छिटै हामी बैठक बसेर यसबारे निर्णय लिन्छौँ ।’ 

यसअघि गत २९ फागुनमा  समन्वय समितिले अनुगमनको क्रममा सोही ठाउँबाट तीनवटा स्काभेटर नियन्त्रणमा लिएको थियो । उनीहरुले जरिवाना रकम बुझाएर स्काभेटर फिर्ता ल्याएका थिए । खानी दर्ता, उत्खनन, भण्डारण र सञ्चालन समेतको नियमन गर्ने प्रमखु जिम्मा स्थानीय तहको भए पनि स्थानीय तह मौन देखिन्छ । उत्खनन गर्नेहरुले जनप्रतिनिधिहरुलाई पनि आर्थिक प्रभावमा पारी मनमौजी उत्खनन गरेको स्थानीयहरु बताउँछन् । 

पर्यावरण मासिने गरि जथाभावी रुखहरु कटान गरी ग्राभेल उत्खनन् गर्दा पनि जनप्रतिधि भने मौनता साँधेर बसेका छन् । गोलबार नगरपालिका ९ र नरहा गाउँपालिका ३ बाट ४० फिटभन्दा गहिरो खाल्डो खनी अवैधरुपमा ग्राभेल निकाल्दा पनि जनप्रतिनिधि एक पटक अनुगमन गर्न समेत पुगेका छैनन् । यसले पनि उनीहरुको मिलेमत्तोको पुष्टि भएको स्थानीय युवाहरुको भनाइ छ ।

नरहा गाउँपालिका अध्यक्ष रामप्रमोद यादव आफ्नो पालिकाबाट उत्खनन् भएको भन्ने आफूलाई जानकारी नै नभएको बताउँछन् । उनी भन्छन्, ‘हाम्रो गाउँपालिकामा अहिलेसम्म एउटा पनि खानी दर्ता छैन, मलाई ग्राभेल उत्खनन भइरहेको भन्ने जानकारी पनि छैन ।’  प्रहरी र समन्वय समितिले पटक पटक टिप्पर र स्काभेटर नियन्त्रणमा लिँदासमेत जनप्रतिनिधि आफूलाई केही जानकारी नै नभएको बताउँछन् ।

वनक्षेत्रदेखि मुस्किलले २५ मिटरको दूरीबाट उत्खनन् गरी वनक्षेत्रको बाटो प्रयोग गर्दा पनि वन अधिकारी मौन बस्नुले मिलेमतो रहेको पुष्टि गर्छ । जथाभावी उत्खननका कारण वरिपरि रहेका आँपका बगैंचा र पानीका स्रोतहरु प्रभावित हुन थालेका छन् । आँपका चिचिला नअडिने र पानीका मुहान सुक्न थालेको स्थानीय किसानहरुको गुनासो छ ।