सिस्नु टिप्न गएका दिदी-बहिनी मृत फेला

सिस्नु टिप्न गएका दिदी-बहिनी मृत फेला



रुकुमपूर्व । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका–३ रन्मामा दिदी–बहिनी मृत फेला परेका छन् । बिहीबार बिहान पुथाउत्तरगंगा गाउँपालिका–३ रन्मा गाउँका एकै घरका दुई दिदी–बहिनी मृत फेला परेका हुन् ।

तारामान बुढाका दुई छोरी ११ वर्षीया रीना बुढामगर र ९ वर्षीया कालिमाया बुढामगर मृत फेला परेका​गाउँपालिका अध्यक्ष पुनिराज घर्ती मगरले जानकारी दिए ।

उनीहरू बुधबार साँझ सिस्नु टिप्ने भनी घरबाट निस्किएका थिए । दुई बालिकाको स्थानीयले खोजी कार्य गर्दा बिहीबार बिहान रन्मा गाउँकै भीरमा मृत फेला परेपछि प्रहरीलाई खबर आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) अञ्जना श्रेष्ठले जानकारी दिइन् ।

घटनाको थप अनुसन्धानका लागि हाल प्रहरी घटनास्थलतर्फ जाँदै गरेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताइन् । प्रारम्भिक खबरअनुसार दुई बालिकाको गरगहना लुटपाट गरी लुटेराले हत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ ।