एमालेको प्रमुख उद्देश्य आर्थिक विकास र समृद्धि : ओली

एमालेको प्रमुख उद्देश्य आर्थिक विकास र समृद्धि : ओली



बाँके । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको प्रमुख उद्धेश्य आर्थिक विकास र समृद्धि भएको बताएका छन् । सोमबार नेपालगञ्जमा सुरु भएको राष्ट्रिय युवा संघ नेपालको ९ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले समृद्ध नेपाल सुखी नेपाली नै नेकपा एमालेको प्रमुख उद्देश्य भएको बताए ।

उनले भने, ‘एमालेले तीनवर्षको अवधीमा आर्थिक विकास र समृद्धिका लागि नमूना योग्य काम गरेको थियो, वर्तमान सत्ता गठबन्धनले देशको आर्थिक अवस्था ध्वस्त बनाएको अवस्था छ ।’

अध्यक्ष ओलीले राष्ट्र बनाउने संकल्प एमालेसँग मात्रै रहेको भन्दै रोजगारीका लागि युवाहरु विदेश जाने अवस्था अन्त्य हुन आवश्यक भएको बताए ।

ओलीले दस दलीय गठबन्धनले कुकर्म गरिरहेको आरोप लगाएका छन् । राजनीतिक विचार नै नभएको वर्तमान गठबन्धन सरकारलाई निकम्मा सरकार भएको बताए ।

उनले पञ्चायत, राजतन्त्र ढाल्ने आफूहरू नै भएको र संघीय लोकतान्त्रिक गणतन्त्रमा गठे संस्कृति मौलाएको आरोप लगाए। ‘कुनै बेला पञ्चायत पनि थियो। तर हाम्रै अगाडि गर्ल्याम गुर्लुम्म ढल्यो । घाम रहुन्जेल पञ्चायत रहन्छ भनिन्थ्यो । हामीले केही समयपछि नै ढल्छ भन्यौं । हामीले निरंकुश रातन्त्र पनि ढल्छ भनेका थियौं। त्यो पनि समाप्त भयो। आज संघीय लोकतान्त्रिक गणतन्त्र आएको छ। यसमा पनि कतिपय विकृतिहरू आएको छ । गठे संस्कृत, यो गठबन्धनको संस्कृति । जसमा राजनीति छैन, विचार छैन । जेसुकै भए पनि जस्तो भए पनि एउटा निकम्मा सरकार बनाउनुपर्ने र कुकर्म गर्नुपर्ने स्थिति बनाएको छ,’ उनले आरोप लगाए ।

उनले गठे संस्कृतिले नै देश आरोलो लगाएको बताए। उनले एमाले नेतृत्वको सरकारले देशलाई सही दिशार्फ लगेको दाबी गरे । उनले आफू प्रधानमन्त्री हुँदा देशमा विकासको मूल फुटेको बताए। उनले एमालेले काम गर्न सकिन्छ भनेर देखाएको बताए ।