प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषदको बैठक

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषदको बैठक



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषदको बैठक बोलाएका छन् । शुक्रबार विहान ९ बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाएको उनको सचिवालय स्रोतले जनाएको छ । यो बैठकले प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्ने तयारी रहेको छ ।

चोलेन्द्रशमशेर जबरा अनिवार्य अवकाशमा गएपछि गत २७ मंसिरदेखि प्रधानन्यायाधीश पद रिक्त छ । हाल कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की रहेका छन् ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा विपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना र उपसभामुख इन्दिरा राना सदस्य छन् ।

प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि बस्ने संवैधानिक परिषदको बैठकमा भने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सदस्य रहनेछन् । हाल कानुनमन्त्री पद पनि रिक्त छ ।