जीतनारायण र गोविन्दलाई विजयी गराउन ९ दललाई देउवाको पत्र

जीतनारायण र गोविन्दलाई विजयी गराउन ९ दललाई देउवाको पत्र



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैशाख १० गते उपनिर्वाचन हुने तनहुँ-१ र चितवन–२ मा कांग्रेसका उम्मेदवारलाई विजयी गराउन सत्ता गठबन्धनका ९ दललाई अनुरोध पत्र पठाएका छन् ।

देउवाले नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी र आम जनता पार्टीका अध्यक्षलाई वैशाख ३ मा अनुरोध पत्र पठाएका हुन् ।

उपनिर्वाचनमा सत्ता गठबन्धन दलबाट तनहुँ– १ मा कांग्रेसका गोविन्द भट्टराई र चितवन–२ मा जीतनारायण श्रेष्ठ उम्मेदवार रहेका छन् । ‘गठबन्धन दलका यी उम्मेदवारहरूलाई विजयी गराउन आ–आफ्नो दलका तर्फबाट पार्टी पङ्क्तिलाई अझ प्रभावकारी परिचालन गर्नुपर्ने आवश्यकता दृष्टिगत गरेर यो अनुरोध पत्र पठाएको छु,’ देउवाको पत्रमा उल्लेख छ ।

सत्ता गठबन्धन सम्बद्ध ९ दलका पंक्तिलाई अझ व्यापक परिचालन गरी गठबन्धन दलका उम्मेदवारलाई अत्यधिक मतले विजयी बनाउन सबै तहलाई आवश्यक निर्देशन र परिचालनका लागि देउवाको अनुरोध छ ।