एमालेका फरार सांसद कोइरी निलम्बित

एमालेका फरार सांसद कोइरी निलम्बित



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएका छन् ।

मंगलबार सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीको नियम २४८ (३) बमोजिम सांसद कोइरीलाई निलम्बन गरेका हुन् । प्रतिनिधिसभाको बैठक नचलेकाले सभामुखको निर्देशनअनुसार संघीय संसद् सचिवालयले सूचना टाँस गरी सांसद कोइरीलाई निलम्बन गरिएको जनाएको छ ।

यसअघि सोमबार प्रहरीले हत्या आरोपी कोइरीलाई पक्राउ गर्नका लागि सहयोग गर्न संसद सचिवालयलाई पत्र पठाएको थियो । २०७२ भदौ २५ गते सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकलाई घेरा हालेर हत्या गरेको आरोपमा उच्च अदालत जनकपुरले सांसद कोइरीलाई थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएको थियो । तर, सांसद कोइरी भने फरार छन् ।