गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत



पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । बिहीबार प्रदेशसभाको बैठकमा उनले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो ।

प्रदेशसभामा सो प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा प्रस्तावको पक्षमा ३५ र विपक्षमा २२ मत परेको जनाइएकाे छ । मतदान प्रक्रिया सुरु हुँदा प्रदेशसभा बैठकमा ५९ सांसद उपस्थित थिए । मतदानका क्रममा दुई जना भने तटस्थ रहेका थिए ।

उनलाई आफ्नै दल कांग्रेसका २७, माओवादीका ७ र मनाङबाट स्वतन्त्र सर्वसम्मत चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङसहित ३५ सदस्यले विश्वासको मत दिएका थिए ।

नेकपा एमालेका २२ सांसले विपक्षमा मत हालेका छन् । राप्रपाका २ सांसद भने तटस्थ बसेको छ ।

मुख्यमन्त्री पाण्डे वैशाख १४ गते नियुक्त भएका थिए । उनले वैशाख १५ गते पद तथा गोपनीयताको शपथ लिएका थिए । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार बिहीबार मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिएका हुन् ।