माओवादी केन्द्रको पदाधिकारी बैठक बालुवाटारमा

माओवादी केन्द्रको पदाधिकारी बैठक बालुवाटारमा



काठमाडौं । बजेट र सरकारको नीति तथा कार्यक्रम बनाउने विषयमा नेकपा माओवादी केन्द्रको पदाधिकारीहरूसँग प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, अग्नि सापकोटा, उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महरा लगायतका नेताहरू सहभागी रहेकाे बैठक अहिले जारी छ ।

सरकार, बजेट निर्माण र आगामी वर्षको नीति तथा कार्यक्रमबारे सुझाव दिन बैठक बसेको प्रवक्ता महराले जानकारी दिए ।

बुधबार बसेको गठबन्धन बैठकले नीति तथा कार्यक्रमबारे आफ्नो दलमा छलफल गरेर सरकारलाई सुझाव दिने समझदारी बनाएको थियो । गठबन्धनको बैठक शुक्रबार पनि बस्दैछ ।

त्यसबाहेक राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउने विषयमा पनि छलफल हुने सम्भावना छ । रास्वपालाई सरकारमा ल्याउने विषयमा छलफल गर्ने जिम्मा गठबन्धनले प्रधानमन्त्री प्रचण्डलाई दिएको छ ।