सरकारमा नजाने रास्वपाको निर्णय, समर्थन पनि फिर्ता लिने

सरकारमा नजाने रास्वपाको निर्णय, समर्थन पनि फिर्ता लिने



काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा नजाने निर्णय गरेको छ । शुक्रबार बसेको रास्वपाल केन्द्रीय समितिको बैठकले हाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ ।

प्रधानमन्त्री प्रचण्डले रास्वपा सभापति रवि लामिछानेलाई भेट्दै सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।

सरकारसँग रास्वपाले चारवटा सर्त राखेको थियो । तर सर्त पूरा नहुने भएपछि सरकारलाई दिएको विश्वासको मत फिर्ता लिने निर्णय गरेको हो । गत ६ चैतमा दोस्रोपटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई रास्वपाले विश्वासको मत दिएको थियो ।

१० पुसकाे गठबन्धनमा एमालेसँगै रास्वपा उपप्रधानमन्त्री लिएर सरकारमा सहभागी भएकाे थियाे । तर नागिरकता प्रकरणमा पार्टी सभापति रवि लामिछानेले पद गुमाएपछि मन्त्रीलाई फिर्ता बाेलाएकाे थियाे । सरकारलाई दिएकाे समर्थन भने कायमै राखेकाे थियाे ।

उपचुनावपछि परिवर्तित अवस्थामा उसले सरकारलाई दिएकाे समर्थन फिर्ता लिएकाे हाे । रास्वपाले समर्थन फिर्ता लिँदैमा गणितीय रुपमा प्रचण्ड सरकारलाई कुनै समस्या भने पर्दैन । रास्वपा बाहिरिएपछि पनि सत्ता गठबन्धनसँग स्पष्ट बहुमत पुग्छ ।