राष्ट्रिय स्वतन्त्र पार्टी मिशन ८४ मा लाग्छ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी मिशन ८४ मा लाग्छ : रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने र प्रतिपक्षमा बस्ने निर्णय भएको बताएका छन् । पार्टी कार्यालयमा शुक्रबार भएको संयुक्त बैठकले जनताको म्यान्डेटअनुसार प्रतिपक्षमा बस्ने निर्णय भएको उनको भनाइ छ ।

‘उपनिर्वाचनमा जनताले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न म्यान्डेड दिएको छ । जनताको जनभावनाअनुसार द्रूत गतिमा अगाडि बढ्छौं,’ उनले भने, ‘पहिलो रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने र दोस्रो, संगठन विस्तारमा लाग्ने ।’

उनले यसअघिको सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रम जनभावना अनुसार भए पनि अहिले त्यो नरहेपछि प्रतिपक्षमा आउनुपर्ने स्पष्ट पारे ।

उनले पार्टी अब मिशन २०८४ मा लाग्ने बताए । ‘हामी अरु कुराभन्दा पनि मिशन २०८४ अभियानमा लाग्नेछौं। त्यसका लागि संगठन विस्तार अभियानमा जुट्नेछौं । जनताको भावनाअनुसार काम गर्नेछौं ।’

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले नक्कली भुटानी शरणार्थीका नाममा भएको ठगीका बारेमा आफूले सरकारमा हुँदै जानकारी पाएको र भित्री रुपमा अनुसन्धान अघि बढाएको दाबी गरेका छन् ।

उनले आफू गृहमन्त्री भएको बेला नक्कली भुटानी शरणार्थीका नाममा ठगीमा परेको भनेर गुनासो आएको र त्यसबारेमा भित्री रुपमा अनुसन्धानअघि बढाएको दाबी गरे ।

उनले भने, ‘जब म गृहमन्त्रालयमा थिएँ, हामीले चार पाँच चरणमा बसेर छलफल गरेर, पेचिलो छ भनेर भित्री रुपमा अनुसन्धान सुरु गरेको विषय हो ।’