सांसदको प्रश्न– संलग्‍नता नभए टोपबहादुर रायमाझी किन लुकेका छन् ?

सांसदको प्रश्न– संलग्‍नता नभए टोपबहादुर रायमाझी किन लुकेका छन् ?



काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न रहेको भनेर अदालतले पक्राउ पूर्जी जारी गरेपछि फरार हुँदा सांसद तथा एमाले सचिव टोपबहादुर रायमाझीमाथि नै प्रश्न उठेको जसपा सांसद प्रदीप यादवले बताएका छन् ।

रायमाझी प्रहरीको सम्पर्कमा रहेको हल्लाले उक्त प्रकरणमा प्रहरीले गरिरहेको अनुसन्धानलाई पनि शंकाको घेरामा पारेको यादवको भनाइ छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा उनले भने, “यदि, दोषी छैनन् भने किन लुकेर बसेका छन् ? लुक्नु भनेको कुनै न कुनै रूपमा यो प्रकरणमा उनको संलग्नता भएको पुष्टि गर्दछ,” सांसद यादवले भने, “उनको छोरा पक्राउ पर्नुले यसलाई थप बल पुगेको अवस्था छ ।”

सांसद यादवले नक्कली शरणार्थी प्रकरणमा सांसद रायमाझीले प्रहरी अनुसन्धानलाई सहयोग गर्नुपर्ने बताएका छन् । प्रहरीले पनि निष्पक्षताका साथ शंका नउठ्ने ढंगले अनुसन्धान गर्नुपर्ने माग सांसद यादवले गरेका छन् ।

प्रहरीले सांसद रायमाझीलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्नेमा त्यसो हुन नसकेको पनि यादवको भनाइ छ । ‘नेपाल प्रहरीले उनलाई नियन्त्रणमा लिएर छिटोभन्दा छिटो कानुनको दायरामा ल्याउनुपर्ने हुन्छ । नभए प्रहरीको काममाथि नै हामीले प्रश्न गर्ने अवस्था सिर्जना हुन सक्छ,’ उनले भने, ‘टोपबहादुर नेपालमै रहेको र प्रहरीसँग सम्पर्कमा रहेको समेत हल्ला चलेको छ । यसले पूरा प्रकरणको अनुसन्धानलाई नै शंकाको घेरामा ल्याउन सक्छ ।’

नक्कली भुटानी शरणार्थी प्रकरणले नेपालको छवि अन्तर्राष्ट्रिय मंचमा नै धमिलो बनेको यादवको भनाइ थियो । उक्त प्रकरणमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनले माग गरे ।