भ्रष्टाचारीविरुद्ध फाइल मात्रै होइन, फायर नै खोल्नुपर्छ : विश्वप्रकाश शर्मा

भ्रष्टाचारीविरुद्ध फाइल मात्रै होइन, फायर नै खोल्नुपर्छ : विश्वप्रकाश शर्मा



काठमाडौं । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारीमाथि कडा कारबाहीको नीति लिनुपर्ने बताएका छन् । प्रतिनिधिसभा बैठकमा २०८०/०८१ का लागि विनियोजन विधेयकको सिद्धान्त, प्राथमिकता सम्बन्धको छलफलमा उनले भुटानी शरणार्थीका विषयमा खोलिएको फाइल निष्कर्षमा पुर्याउनुपर्ने बताए ।

‘यहीँनेर भुटानी शरणार्थीको सन्दर्भको फाइल खोलिएको छ । यसलाई निष्कर्षमा पुर्‍याउनु पर्छ भन्ने अपिल र आग्रह गर्न चाहन्छु’ उनले भने, ‘भ्रष्टाचारका विरुद्ध फाइल मात्रै होइन फायर खोल्नुपर्छ राज्यले ।’

भ्रष्टाचारका फाइल खोल्दा र कारबाही प्रक्रिया अगाडि बढाउँदा ‘निर्दोष कोही फस्नुहुन्न, दोषी कोही बच्नु पनि हुन्न’ भन्ने दृष्टिकोण लिनुपर्ने शर्माले बताए ।

“कुनै इफ, बट, किन्तु, परन्तु नगरिकन भ्रष्टाचारको छानबिनका सन्दर्भमा राज्यले कठोरतापूर्वक जानका लागि राज्यले कुनै हदम्याद राख्ने कुराबाट सरकार पछि सर्नुपर्छ,” शर्माले भने ।

सरकारले भ्रष्टाचार निवारण ऐन, २०५९ को संशोधन ऐन र सरकारले ल्याएका नीतिमा विरोधाभास रहेको पनि शर्माले बताए । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता लिने सरकारको नीति रहेको कुरालाई कार्यान्वयनमा लिनुपर्ने बताए ।

पछिल्लो समय भ्रष्टाचारका फाइल खुलेको कुरालाई निष्कर्षमा पुर्‍याउनुपर्ने पनि उनको आग्रह थियो । भ्रष्टाचारको छानबिनका लागि राज्यले कुनै पनि हदम्याद राख्न नहुने शर्माको भनाइ छ ।