भ्रष्टाचारमा जोसुकैको नाम आओस्, दोषी छ भने कारबाही हुनुपर्छ : ओली

भ्रष्टाचारमा जोसुकैको नाम आओस्, दोषी छ भने कारबाही हुनुपर्छ : ओली



काठाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार प्रकरणमा उच्च पदस्थ व्यक्तिहरू र एमालेकै नेताहरूको नामसमेत आइरहेको भन्दै जोसुकैको नाम आए पनि दोषी भए कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् ।

बिहीबार च्यासलमा पार्टी केन्द्रीय कमिटी बैठकको सुरुआतमा राजनीतिक प्रतिवेदन पेस गर्नुअघि उनले समसामयिक विषयमा बोलेका छन् । ओलीले रोक्न नसकिने अवस्थामा पुगेपछि सार्वजनिक भएको नक्कली भुटानी शरणार्थी प्रकरणले आफूलाई खुसी लागेको बताए ।

“अहिले रोक्न नसकिने गरी एउटा यस्तो परिस्थिति निर्माण भयो, जसले एउटा भ्रष्टाचारको काण्ड बाहिर आएको छ । अब जेसुकै गरे पनि यो भ्रष्टाचार सतहमा आइसकेको छ,” उनले भने, “कमरेडहरूको मनमा पनि होला, हाम्रै पार्टीमा भएका, हिजो हाम्रै सरकारमा भएका मान्छेहरूको नाम आएको छ । जोसुकैको नाम आओस्, यदि दोषी छ भने कारबाही हुन्छ ।”

उनले दोषी प्रमाािण्त नहुँदासम्म अपराधी भन्न नमिल्ने बताए । एमालेलाई लक्षित गरेर केही नकारात्मक टिप्पणी भइरहेको उनले उल्लेख गरे ।

“एउटा कुरा के छ भने, जबसम्म दोषी प्रमाणित हुँदैन, तबसम्म अपराधी भन्ने हो कि भन्ने शंका त हुन्छ । तर, अपराधी भन्न मिल्दैन,” ओलीले भने, “पूर्वाग्रही रूपमा दिइने अभिव्यक्ति र अखबारका हल्लाको पछि लाग्न आवश्यक छैन । तर, एमालेका विरुद्ध लगातार वर्षौँदेखि प्रयास भइरहेका छन् ।”

उनले राज्यको ढुकुटी छलछाम गरेर खल्तीमा हाल्ने काममा जोकोही भए पनि त्यसको प्रतिरोध गर्नुपर्ने बताए । उनले भ्रष्टाचारीको विरुद्वमा कसैले बोल्यो भने उसको मुख थुन्ने प्रयास भइरहेको बताए ।