काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहको सबैलाई कारवाहीको दायरमा ल्याइने बताएका छन् ।
बिहीवार आफूसँग भेट गर्न आएका नेकपा एकीकृत समाजवादीका नेता तथा जनवर्गीय संगठनका नेताहरूसँगको छलफलका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले दोषीलाई कुनै पनि हालतमा नछाड्ने र निर्दोष कुनै पनि हालतमा नफस्ने गरी सरकार अगाडि बढेको बताए ।
श्रेष्ठले यो कार्य सामान्य भ्रष्टाचार मात्रै नभएर संगठित अपराध भएको उल्लेख गरे । अझ त्योभन्दा बढी यो राज्यविरुद्धकै अपराध भएको उनको भनाइ छ ।
श्रेष्ठले यो प्रकरणमा आफूलाई कुनै पनि नेताले दबाब नदिएको उल्लेख गर्दै दबाब आए त्यसलाई थेगेरै भए पनि अनुसन्धान प्रक्रियालाई निष्कर्षमा पुर्याइने दृढता व्यक्त गरे । शरणार्थी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट आफूले दह्रो साथ र आडभरोसा पाएको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ ।
भेटमा नेकपा एसका केन्द्रीय सदस्यहरू, जनवर्गीय संगठनका केन्द्रीय नेताहरूले शरणार्थी प्रकरणमा सरकारले प्रशांसनीय काम गरेको भन्दै बधाई दिएका थिए ।
यसअघि मंगलवार पनि कांग्रेसका युवा नेताहरूले भेटेर यो अनुसन्धानलाई निष्कर्षमा पुर्याउन र दबाबका अगाडि नझुक्न श्रेष्ठलाई सुझाव दिएका थिए ।
प्रतिक्रिया