कांग्रेसले बालकृष्ण खाँणलाई अहिल्यै कारवाही नगर्ने

कांग्रेसले बालकृष्ण खाँणलाई अहिल्यै कारवाही नगर्ने



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई नेपाली कांग्रेसले कारवाही नगर्ने भएको छ ।

पूर्वगृहमन्त्रीसमेत रहेका खाँण भुटानी शरणार्थी प्रकरणमा मुछिएका छन् । उनलाई प्रहरीले बुधबार पक्राउ गरेको थियो ।

बिहीवार बसेको पार्टी पदाधिकारी बैठकमा खाँणको विषयमा सामान्य छलफल भए पनि तत्काल कारवाही आवश्यक नभएको सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।

पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सहमहामन्त्री परियारले कांग्रेसले अनुसन्धानलाई सघाइरहेको बताएका छन् । पक्राउ परेका व्यक्ति अभियुक्त मात्रै भएको र दोषी भन्न नमिल्ने उनले बताए ।

उनले भने, ‘उहाँ बुटवल जानुभएको थियो । त्यतैबाट भाग्न पनि सक्नुहुन्थ्यो तर निवासबाटै पक्राउ पर्नुभयो । उहाँले अनुसन्धानमा सघाइरहनुभएको छ । हामीले अदालतको निर्णय पर्खिनुपर्छ । अदालतबाट फैसला नआउँदासम्म कोही दोषी हुँदैन ।’

एमालेले टोपबहादुर रायमाझीलाई सचिवबाट निलम्बन गरेको विषयसमेत छलफलमा आएको जानकारी दिँदै उनले अदालतमा विचाराधीन विषयमा कांग्रेसले आधिकारिक धारणा अहिले नै बनाएर जान नहुने बताए ।

प्रकरणमा खाँणको संलग्नता पुष्टि नभइसकेकोले अहिले नै निलम्बन गर्नु नपर्ने निष्कर्ष बैठकले निकालेको छ ।

पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा कुनै पनि विवाद नरहेको सहमहामन्त्री परियारले दाबी गरेका छन् । आजको बैठकमा नीति अधिवेशन, केन्द्रीय समिति बैठक, भ्रातृ तथा विभागलाई पूर्णतालगायत विषयमा पनि छलफल भएको थियो ।