टोपबहादुर–बालकृष्णसहित १४ लाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

टोपबहादुर–बालकृष्णसहित १४ लाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति



काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएका १४ जनालाई थप ३ दिन हिरातसमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

बुधबार अदालतले सो प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित सबै १४ जनाविरुद्ध अनुसन्धानका लागि ३ दिन म्याद थप भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

२०७९ चैत १२ मा प्रहरीले केशव दुलाल, पाँचथरका टङ्क गुरुङ र ललितपुर घर भएका सानु भण्डारीलाई पक्राउ गरेको थियो । यस्तै चैत १५ मा मोरङ घर भएका सागर राई पक्राउ परेका थिए ।

यो प्रकरणमा रायमाझी, खाणसहितका १४ जना जिल्ला प्रहरी परिसर काठमाडौँ मातहतका विभिन्न हिरासतमा रहेका छन् । प्रहरीले उनीहरुविरुद्ध सङ्गठित अपराध र ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ । सङ्गठित अपराधमा ६० दिनभित्र अदालतमा मुद्दा दर्ता गर्नुपर्ने कानुनी प्रावधान छ । सुरुमा पक्राउ परेका आरोपीहरू ५४ दिनदेखि हिरासतमा छन् । पछि पक्राउ परेकाहरूको पनि सुरुमा पक्राउ परेका आरोपीसँग म्याद मिलान हुन्छ ।

अनुसन्धान सुरु भएको ५४ औँ दिनमा १४ जनालाई नै प्रहरीले अदालतमा उपस्थित गराएको थियो । भुटानी शरणार्थीको कोटामा नेपालीलाई अमेरिका पठाउँछु भनेर ठगेको आरोप लागेका नेपाली कांग्रेसका पूर्व सभासद् आङ्टावा शेर्पाले सोमबार आत्मसमर्पण गरेका थिए ।

मंगलबार अदालतले उनलाई २ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । प्रहरीले आङ्टावा शेर्पाको बयान सकिसकेको छैन । अनुसन्धानमा संलग्न एक जना अधिकृतका अनुसार अनुसन्धान प्रतिवेदन अन्तिम अवस्थामा पुगेको र राय लेख्न बाँकी छ । ती अधिकृतका अनुसार आङ्टावाको बयान लिने काम र राय लेखन कार्य भइरहेको छ।