जस्तोसुकै दबाब आए पनि अनुसन्धान प्रभावित हुन दिन्नँ : गृहमन्त्री श्रेष्ठ

जस्तोसुकै दबाब आए पनि अनुसन्धान प्रभावित हुन दिन्नँ : गृहमन्त्री श्रेष्ठ



काठमाडौं । उप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नै देशको नागरिकलाई पैसा असुलेर अनागरिक र शरणार्थी बनाई वैभवशाली जीवन व्यतित गर्ने प्रवृत्तिलाई जस्तोसुकै दबाब वा प्रभाव आए पनि छुट दिन नसकिने बताएका छन् ।

उनले दोषी नउम्कने र निर्दोष नफस्ने गरी प्रहरीले स्वतन्त्र अनुसन्धान गरिरहेको जानकारी दिए । श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणलाई तथ्य र प्रमाणका आधारमा निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बुधवार मन्त्रालयमा नेकपा (एकीकृत समाजवादी) का नेता तथा कार्यकर्ताले नक्कली शरणार्थी प्रकरणको सत्य/तथ्य छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दै बुझाएको ज्ञापनपत्र लिँदै मन्त्री श्रेष्ठले यस्तो प्रतिबद्धता जनाएका हुन् । उनले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई बाहिर पठाउने र त्यसबाट पैसा सङ्कलन गरी सम्पत्ति आर्जन गर्ने कुरा सङ्गठित अपराध भएको बताए । यो अपराधमा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउने उनकाे भनाइ छ ।

उनले भने, ‘नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई बाहिर पठाउने र त्यसबाट पैसा सङ्कलन गरी सम्पत्ति आर्जन गर्ने कुरा सङ्गठित अपराध हो । कुनै प्रकरण विना पूर्वाग्रह छानबिन गर्न, निर्दोष फस्न नहुने र दोषी उम्किन हुँदैन भनेर काम र छानबिन गर्न निर्देशन दिइएको छ । कुनै पनि दबाबमा वा कुनै पनि अवाञ्छित प्रभावबाट सरकार प्रभावित हुँदैन, अनुसन्धानको प्रक्रियालाई तथ्य र प्रमाणको आधारमा निष्कर्षमा पुर्‍याउन सरकार प्रतिबद्ध छ । दोषीलाई कारबाहीको प्रक्रियामा लगि छोड्छौँ ।’

मन्त्री श्रेष्ठले भ्रष्टाचार नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको र भ्रष्टाचार नियन्त्रण नभएसम्म समृद्धिको लक्ष्य हासिल हुन नसक्ने बताए ।

नेकपा (एकीकृत समाजवादी) को तर्फबाट पार्टी उपमहासचिव जगन्नाथ खतिवडासहितको टोली गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउन पुगेको थियो ।