सरकारलाई ओलीको प्रश्न– नेपालको सीमा सुरक्षित नै छ ?

सरकारलाई ओलीको प्रश्न– नेपालको सीमा सुरक्षित नै छ ?



काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले कालापानी क्षेत्रको अवस्थाका बारेमा सरकारसँग प्रश्न गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा उनले यस्तो प्रश्न गरेका हुन् ।

ओलीले अहिले सम्बोधन गरिरहेका छन् । उनले सम्बोधनको क्रममा भने, “कालापानी क्षेत्रको अवस्था के छ ? सीमा सुरक्षित नै छ ? देशको सीमाको बारेमा बोल्दा फाँसी किन नदिइएको भनेर टीभीले भन्यो ?”

ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम उत्साहजनक नरहेको टिप्पणी गरेका छन् ।

अध्यक्ष ओलीले भने–‘सर्वसाधारणले उपभोग गर्ने सामग्रीको मूल्य १५ देखि २५ प्रतिशतसम्म वृद्धि भएको छ । निर्यात २६ प्रतिशतले घटेको छ । आयात १८ प्रतिशतले घट्दा विकास निर्माणका सामग्री, औद्योगिक कच्चा पदार्थ, विद्युत् तथा सञ्चार उपकरण, कृषि उपकरण, निर्यात गरिने कच्चा पदार्थका सामग्री अभाव हुन थालेका छन् । तरलताको अभाव, उच्च ब्याजदर, ऋण नतिर्नेलाई राजनीतिक संरक्षण, व्यवसायीको खस्केको मनोबल लगायतका यथार्थहरूलाई संबाेधन गर्ने गरी नीति तथा कार्यक्रम आएको छैन ।’

सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम उच्च आर्थिक वृद्धि हासिल गर्ने कुनै योजना नै नभएको अध्यक्ष ओलीको दावी छ ।