कांग्रेसलाई हिस्ट्रीले बाईबाई गर्न सक्छ : योगेश भट्टराई

कांग्रेसलाई हिस्ट्रीले बाईबाई गर्न सक्छ : योगेश भट्टराई



काठमाडौं । एमाले सचिव तथा सांसद योगेश भट्टराईले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको पहिलो बुँदामा ‘जनयुद्ध’ शब्द लेखिएको भन्दै आपत्ति जनाएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले जनयुद्ध शब्दको विषयमा संविधान निर्माणका क्रममा ब्यापक छलफल भएको स्मरण गराउँदै अहिले नीति तथा कार्यक्रममा उक्त शब्द लेखिएकोप्रति आपत्ति जनाएका हुन् ।

संविधान निर्माणपछि जनयुद्ध शब्द कुनै पनि सरकारी दस्तावेजमा नरहेको भन्दै उनले तर, राष्ट्रपति रामचन्द्र पौडेललाई नीति तथा कार्यक्रम प्रस्तुत गर्दा उक्त शब्द वाचन गराइएको भन्दै कांग्रेसको पनि आलोचना गरे । उनले नेपाली कांग्रेसलाई जनयुद्ध शब्द स्वीकार गरेको हो भनेर प्रश्न गरेका छन् ।

भट्टराईले ०७२ सालपछि पहिलो पटक सरकारी दस्तावेजमा जनयुद्ध शब्द परेको बताए ।

उनले भने, ‘आज कता–कता के लाग्छ भने फुकुयामाले बीपी, गणेशमान, किसुनजी, गिरिजाप्रसाद जस्ता व्यत्तित्व पछिको एउटा निक्छरो नेपाली कांग्रेसको हालत देखेर कांग्रेसकै लागि यो लेख्नु भएको हो कि भन्ने लागिरहेको छ ।’

यदि एक नम्बर बुँदा स्वीकार गर्छ भने कांग्रेसको इतिहासकै अन्त्य हुने उनको दाबी छ । भट्टराईले अघि भने, ‘यसमा माननीय शेरबहादुर देउवाजीबाटै जवाफ पाए हुन्थ्यो भन्ने लाग्छ । उहाँ पार्टी सभापति हुनुहुन्छ, गठबन्धनको सबभन्दा ठूलो नेता हुनुहुन्छ, उहाँको नीति विना यो नीति कार्यक्रम कसरी बन्यो होला ?’

जनयुद्ध शब्द कांग्रेसकै सहमतिमा उल्लेख गरिएको अनुमान लगाउँदै उनले कांग्रेस इतिहासमै निम्छरो अवस्थामा रहेको टिप्पणी गरे । यस्तै अवस्था रहिरहे कांग्रेसलाई हिस्ट्रीले बाईबाई गर्ने बताए ।