योगेश भट्टराईलाई देवेन्द्र पौडेलको जवाफ- डिस्नेरी हेरेर आउनुस्

योगेश भट्टराईलाई देवेन्द्र पौडेलको जवाफ- डिस्नेरी हेरेर आउनुस्



काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘जनयुद्ध’ शब्दको विषयले एमाले र माओवादी सांसदबीच सवालजवाफ चलेको छ । 

गत शुक्रबार संघीय संसदको दुवै सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममाथि सोमबार प्रतिनिधिसभामा भइरहेको छलफलमा एमाले सांसद योगेश भट्टराई र माओवादी केन्न्द्रका सांसद देवेन्द्र पौडेलबीच सवालजवाफ भएको हो । 

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै भट्टराईले जनयुद्ध शब्दको विषयमा संविधान निर्माणका क्रममा ब्यापक छलफल भएको स्मरण गराउँदै अहिले नीति तथा कार्यक्रममा उक्त शब्द लेखिएकोप्रति आपत्ति जनाए । 

संविधान निर्माणपछि जनयुद्ध शब्द कुनै पनि सरकारी दस्तावेजमा नरहेको भन्दै उनले तर, राष्ट्रपति रामचन्द्र पौडेललाई नीति तथा कार्यक्रम प्रस्तुत गर्दा उक्त शब्द वाचन गराइएको भन्दै कांग्रेसको पनि आलोचना गरे । 

उनीपछि नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिएका माओवादीका देवेन्द्र पौडेलले भट्टराईको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै डिस्नेरी हेर्न सुझाव दिए । 

जनता सहभागी भएर भएका आन्दोलन र युद्धलाई नै जनआन्दोलन र जनयुद्ध भनिने भन्दै पौडेलले भट्टराईलाई डिस्नेरी हेर्न सुझाव दिएका हुन् । 

‘माननीयजीलाई एक पटक डिक्सनरी पल्टाएर हेर्न अनुरोध गर्दछु, त्यो माछा युद्ध थियो, भालु युद्ध थियो ? जंगलका अर्नाहरु लडेका थिए ? कि रुख, ढुंगाहरु लडेका थिए ?’ पौडेलले भट्टराईलाई भने, ‘माननीयजी डिक्सनरी पल्टाएर हेर्नुहोला, मानिसले लडेको युद्धलाई कि जनआन्दोलन भनिन्छ कि जनयुद्ध भनिन्छ । मानिसका छोराहरु लडेका युद्ध थियो ।’

नेता पौडेलले भट्टराईलाई बृहत शान्ति सम्झौता बिर्सनुभयो भन्ने प्रश्न पनि गरे । ‘तपाईको नेताले १२ बुँदे सहमतिमा हस्ताक्षर गरेको बिर्सनुभयो । हामी त्यही श्रृङ्खलामा छौं’, उनले भने ।

नेपाली जनतालाई सार्वभौम बनाउन र संविधानसभाबाट संविधान बनाउन जनयुद्ध लडिएको भन्दै पौडेलले जनयुद्धकै कारण एकात्मक राजतन्त्र अन्त्य भएर संघीय गणतन्त्र प्राप्त भएको दाबी गरे ।