पन्च, राजादेखि उच्च पदस्त सबैको सम्पत्ति छानबिन गरौं : राजेन्द्र लिङ्देन

पन्च, राजादेखि उच्च पदस्त सबैको सम्पत्ति छानबिन गरौं : राजेन्द्र लिङ्देन



काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारविरुद्धको अभियानका लागि आयोग गठन गरेर सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् । 

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफललमा सहभागी हुँदै उनले पन्च, राजादेखि सबै उच्च पदस्त र उनका आफन्तको सम्पत्ति आयोग बनाएर छानबिन गर्न आग्रह गरे । 

भ्रष्टाचारविरुद्धको प्रतिबद्धता कागजमा सीमित भएर नहुने भन्दै उनले भ्रष्टाचारविरुद्धको अभियानका लागि उच्च पदस्त सबै व्यक्ति र उनीहरुरुका आफन्त सम्पत्ति छानबिन गर्न आयोग गठन गर्न माग गरेका हुन् । 

‘नीति तथा कार्यक्रममा एउटा स्वतन्त्र नागरिक आयोग गठन गरेर ४८, ४६ जहिल्यैको मिति तोकिदिनुस् । मैले त भनेको छु, पन्चहरुको, राजाको, क–कसकोबाट र कोबाट सुरु गर्ने हो । तर, अब सबैको सम्पत्ति छानबिन गरिनेछ । उनका नातागोता, परिवारको सम्पत्ति छानबिन गरिनेछ र अवैधानिक सम्पत्ति जफत गरिनेछ र कारबाही गरिनेछ भनेर लेख्नुस् न अनि पो यो सरकार भ्रष्टाचारविरुद्ध निर्मम आयो भनेर विश्वास गर्ने,’ बैठकमा लिङ्देनले भने । 

अध्यक्ष लिङ्देनले संसदमा पेस भएको नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्ने बताएका छन् ।

उनले प्रस्तुत नीति तथा कार्यक्रमले अहिलेको आर्थिक समस्या समाधानदेखि देशको समृद्धिमा काम गर्न नसक्ने भन्दै पुनर्लेखन गर्नु हिच्किचाउन नहुने बताए ।

सरकारलाई नीति तथा कार्यक्रम पुनर्लेखन गरेर ल्याउन सुझाव दिँदै उनले विनाअध्ययन कार्यक्रम समावेश गरिएको बताए । विद्युत् प्राधिकरणको सेयर निष्कासन गर्न सुझाव दिँदै उनले बुढीगण्डकी, दुधकोशी र तमोरजस्ता आयोजनामा नेपालकै पैसा लगानी गर्नुपर्ने बताए ।