भारतीय संसद्को नक्सा त्रुटिपूर्ण छ : ओली

भारतीय संसद्को नक्सा त्रुटिपूर्ण छ : ओली



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले आफ्नो नवनिर्मित संसद् भवनमा राखेको मुराल (नक्सा) त्रुटिपूर्ण भएको बताएका छन् ।

उनले भारतका मन्त्रीहरू ग्रेटर भारतको अवधारणाअन्तर्गत यो कुरा आएको भनिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहालले त्यो विषय भ्रमणका क्रममा नउठाएको भन्दै आपत्ति जनाए । भारतले राखेको मुरालमा नेपालका लुम्बिनी र कपिलवस्तु समावेश छन् ।

ओलीले प्रधानमन्त्रीलाई भने, ‘तपाईंले गेरुवस्त्र लगाउनुभयो । एक ढाकर रद्राक्ष बोकेर जानु भयो । कोटको एउटा गोजीमा नागरिकता विधेयक प्रमाणीकरणको कागज राख्नुभयो, उहाँ जे बोलियो त्यो राष्ट्रिय हितमा धक्का पैदा भयो । प्रधानमन्त्रीप्रति सन्देह पैदा भएको छ ।’ उनले भारतले लिन चाहेका विषय ‘सोलिड’ रूपमा दिएको तर लिनुपर्ने कुरा चाहिँ राँगाबाहेक अरु सैद्धान्तिक रूपमा लिएको आरोप लगाए ।

‘ग्रेटर भारतको उद्देश्य यही हो भनेर त्यहाँका मन्त्रीहरु बोलिरहेका छन् । चार-चार दिन बस्दा केही भन्नुपर्दैन ?,’ ओलीले प्रधामन्त्री दाहाललाई प्रश्न गरे,’ यही तरिका हो भने हामी धेरै कुरा लुज गर्छौं । नक्सा बनाउनु त्रुटि हो । सांस्कृतिक भनेर राष्ट्रका नक्साहरूको सम्बन्धमा सीमा नबनाइकन यस्तो ढंगले फस्नु हुँदैनथ्यो। प्रधानमन्त्रीको अडानहिनता देखियो । हुन त यो सरकार र गठबन्धन बन्दा नै कम्फर्टेबल भन्ने थियो ।’