माओवादीले आज मधेश प्रदेशसभा बैठक बहिस्कार गर्ने

माओवादीले आज मधेश प्रदेशसभा बैठक बहिस्कार गर्ने



जनकपुरधाम । सत्तारूढ नेकपा माओवादी केन्द्रले मधेश प्रदेश सभाको आजको बैठक बहिस्कार गर्ने भएको छ ।

सरकारकाे नीति तथा कार्यक्रममा आफूहरूले दिएको सुझाव नसमेटिएको भन्दै माओवादीले प्रदेशसभा बैठक बहिस्कार गर्ने निर्णय गरेको हो ।

आज दिउँसो १ बजे बस्न लागेको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ । कुनै पनि पार्टीका सांसदले दिएका सुझावहरू नीति/कार्यक्रममा नसमेटिएकाे माओवादीकाे दाबी छ ।

केन्द्रीय नेताहरूबीच भएको सहमति अनुसार दुइवटा मन्त्रालय नपाएपछि पछिल्लो समय माओवादी सरकारसँग असन्तुष्ट छ । गएको जेठ ९ गते संसदीय दलको बैठकले आफ्ना पार्टीका मन्त्रीलाई सरकारबाट बाहिरिने समेत निर्णय गरेको थियो । यद्यपि हालसम्म माओवादीले भने मन्त्री फिर्ता बोलाएको छैन ।

मधेश प्रदेश सरकारमा माओवादीको तर्फबाट सुनिता यादवले उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालिरहेकी छन्। त्यस्तै, रहबर अन्सारी भने सोही मन्त्रालयका राज्यमन्त्री छन् ।

सरकार नसच्चिए छिट्टै मन्त्री फिर्ता बोलाउने तयारी भइरहेको माओवादीका एक नेताले बताए ।