रवि लामिछानेले गरे संसदमा आत्मआलोचना

रवि लामिछानेले गरे संसदमा आत्मआलोचना



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसदमा आत्मआलोचना गरेका छन् । प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा संसद्मा जे नहुनुपर्ने थियो त्यो भएको स्वीकार्दै सांसद लामिछानेले आफ्नो पार्टीको तर्फबाट भएको गलत बहसमा आफूले आत्मआलोचना गर्ने बताए ।

“हामीले पार्लियामेन्टको डिग्निटी राख्न कतै चुकिरहेका त छैनौँ ? चाहे नयाँ दलका रूपमा हाम्रा तर्फबाट हुन् वा अरूबाट आएका हुन्, हामी लज्जित छौँ,” लामिछानेले भने, “यो सदन भैँसी–राँगाका विषयमा मात्र छलफल गर्ने हो भने हामीले पाँच वर्षमा गोबर मात्र प्राप्त गर्नेछौँ ।”

‘संसद्मा भैँसी र राँगाको विषयमा बहस गरेर पाँच वर्ष गुजार्ने काम होइन, यस विषयमा सत्ता पक्ष र प्रतिपक्ष वादविवादमा लागेर लज्जित भएका छौँ । यो गलत कार्य हो । नहुनुपर्ने कार्य हो हाम्रो पार्टीबाट भएको गल्तीमा म आत्मआलोचना गर्न चाहन्छु’ लामिछानेले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबाट फर्किएपछि नेकपा एमाले लगायत दलका सांसदले विभिन्न विषयमा संसद्मा विरोध जनाएका थिए । त्यही बहसमा रास्वपा पनि समाहित भएको थियो । सो क्रममा रास्वपाका एक सांसदको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइएको थियो ।

सोही अवसरमा सांसद लामिछानेले आफ्नो पार्टी नागरिकता विधेयकको विपक्षमा नभएको स्पष्ट पार्दै विरोधमा रहेको भाष्य प्रमाणित गर्न लागि परेको भन्दै दुःख व्यक्त गरे ।