बालेनले कार्यकक्षमा राखे ग्रेटर नेपालको नक्सा

बालेनले कार्यकक्षमा राखे ग्रेटर नेपालको नक्सा



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले साहसिक निर्णय लिँदै आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् । बिहीबार सभागृहस्थित रहेको मेयरको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको हाे ।

भारतको नयाँ संसद भवनमा ग्रेटर इन्डियाको नक्सा राखेपछि हामीले किन नराख्ने भनेर उनले ग्रेटर नेपालको नक्सा आफ्नो कार्यकक्षमा राखेका हुन् । नेपालको नक्सा पनि पुरानो भइसकेको हुँदा ग्रेटर नेपालको नक्सा राखी पुनःस्थापना गरिएको बताइएकाे छ ।

महानगर स्रोतकाअनुसार मेयरको कार्यकक्षमा दुई-तीन दिनअघि नयाँ नक्सा राखिएको हो । शाह भने अहिले पत्नीको उपचारका लागि भारतको बैंगलौरमा छन् ।

भारतले जेठ १४ गते नयाँ संसद भवनको उद्घाटन गरेको थियो । उक्त भवनमा भारतले ‘अखण्ड भारत’ को नक्सा राखेको थियो।उक्त नक्सामा ‘अखण्ड भारत’ मा नेपालको लुम्बिनी र कपिलवस्तु क्षेत्रलाई समेत समेटिएको छ ।

प्रधानमन्त्रीलाई सांसदहरूले भारतीय संसदमा राखिएको ‘अखण्ड भारत’ को भित्तेचित्र हटाउन भारतलाई आग्रह गर्नुपर्ने बताउँदै आएका छन् ।

कुनै समय नेपालको भूभाग पूर्वमा टिस्टादेखि पश्चिममा सतलजसम्म फैलिएको थियो । तर, अंग्रेजसँगको युद्धपछि नेपालले आफ्नो ठूलो हिस्सा जमिन गुमाउन पुग्यो । सन् १८१६ को मार्च ४ मा नेपाल र इष्ट इन्डिया कम्पनीबीच सुगौली सन्धी भएको थियो, जसले नेपालको भूभाग मेची-महाकालीमा खुम्च्याइदिएको छ ।

पूर्वटिस्टादेखि पश्चिम काँगडासम्म समेटेर बनाइएको नक्सा नै ग्रेटर नेपालको नक्सा हो ।