सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्छ : सभापति देउवा

सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्छ : सभापति देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्ने बताएका छन् । नेपाल डेमोक्र्याटिक लयर एसोसिएसन (डिएलए नेपाल) को ११औँ राष्ट्रिय महाधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उनले अहिलेको समयमा सबै मिल्नुको विकल्प नरहेको बताएका हुन् ।

आफुलाई पुनः सभापति बन्ने रहर नरहेको भन्दै उनले प्रजातन्त्र बलियो बनाउनका लागि कांग्रेस बलियो हुन आवश्यक रहेको बताए । उनले भने, “नेपाली कांग्रेस बलियो भयो भने प्रजातन्त्र बलियो हुन्छ । त्यसका लागि सबै मिलेर अघि बढौँ ।”

नेकपा (एमाले) भित्र उमेर हद हटाइएको भन्दै उनले थपे, “हामीकहाँ त्यस्तो छैन । तर दुई पटकभन्दा बढी सभापति हुन पाइँदैन । मैले म फेरि हुन्छु भनेर पनि भनेको छैन ।” प्रजातन्त्र बलियो भयो भने नेपालको विकासमा ठूलो सहयोग पुग्ने उनको भनाइ थियो ।

पूर्वप्रधानमन्त्री देउवाले कानून व्यवसायी अझ बढी सक्षम हुँदै प्रजातन्त्रको रक्षाका लागि लाग्नु पर्ने बताए । उनले भने, “रानीतिज्ञले गलत गरेको कुरालाई पनि समाधान गराएर यो ठिक छ र यो छैन भनेर सुझाव दिन सक्ने कानून व्यवसायी हुन् ।”

प्रजातन्त्रलाई बलियो र सुदृढ बनाउन डिएलएको भूमिका महत्त्वपूर्ण रहेको उनको भनाइ थियो । उनले भने, “यो भूमिकालाई अझै सशक्त बनाउँदै लैजानुपर्छ ।” आफू पनि कानूनको विद्यार्थी भएको भन्दै देउवाले अभ्यास गर्न नपाउँदा दुःख लागेको बताए । कानून व्यवसायी पेशा मर्यादित भएको उनको भनाइ थियो ।

बिपी कोइराला पनि कानून व्यवसायी भएको भन्दै उनले भने, “बिपी कोइराला पार्टीमा कानून व्यवसायी (लयर) हुनुहुन्थ्यो । भारतीय नेता जवाहरलाल नेहरू पनि कानून व्यवसायी हुनुहुन्थ्यो । लयर राम्रो हो, मैले पनि ल पढेको हुँ, प्राक्टिस गर्न पाइनँ ।” अमेरिकामा कानून पढेका राष्ट्रपतिलगायत उच्च तहमा पुगेको भन्दै उनले कानूनको ज्ञान सबैलाई हुनुपर्ने बताए ।

कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले न्यायाधीश सिफारिस गर्ने क्रममा क्षमताको आधारमा गरिने बताउनुभयो । उनले भने, “नेताहरूको आँगनमा देउसी, भैलो खेलेर न्यायाधीश बन्ने दिन गए ।”

क्षमता नभएका व्यक्तिलाई न्यायाधीशमा सिफारिस नगर्ने प्रतिबद्धता जनाउँदै उनले भने, “न्यायालयमा भएको भ्रष्टाचार शून्य गर्न म मन्त्री भएको हुँ । त्यो सफा गर्ने क्रममा ब्रिफकेस बोकेर धाउने न्यायाधीश बन्न सक्दैन । निष्पक्षरूपमा क्षमताका आधारमा न्यायाधीश छानिन्छ ।”

विगतमा शक्ति केन्द्रबाट कानून सञ्चालन भएको उल्लेख गर्दै नेपाली कांग्रेसका उपसभापतिसमेत रहनुभएका मन्त्री गुरुङले त्यस्ता शक्ति केन्द्र ढलेको र लोकतन्त्र प्राप्त भएको बताए । पछिल्लो समयमा फेरि हामी ती शक्ति केन्द्रजस्तै बन्यौँ र दण्ड चलाउन थाल्यौँ भने कानूनी राज्यको परिकल्पना अधुरो हुने उनको भनाइ थियो । लोकतन्त्रलाई बलियो बनाउनका लागि सुशासन आवश्यक रहेको भन्दै उहाँ कानूनको आँखामा सबै बराबर हुने बताए ।

कांग्रेस महामन्त्री गगनकुमार थापाले विधिको शासन र सर्वोच्चताका लागि कांग्रेस ठीक ठाउँमा उभिनु पर्ने बताए । उनले भने, “कांग्रेस ठीक ठाउँमा उभियो भने विधिको शासन र सर्वोच्चता रहन्छ नत्र रहँदैन ।” अहिलेको समय पार्टीलाई पुनरसंरचना गर्ने समय भएको धारणा राख्दै उहाँले यसमा डिएलएको सहयोग आवश्यक रहेको बताए ।

पार्टीलाई विधानसम्मत सञ्चालन गर्नका लागि अहिलेको पद्धतिलाई भत्काउन आवश्यक रहेको उनको भनाइ थियो । उनले भने, “क्रियाशील सदस्यता वितरण र उम्मेदवार छनोट गर्ने अहिलेको पद्धतिको अन्त्य नभएसम्म पार्टीभित्र सुधार हुन नसक्ने देखिन्छ ।”

कार्यक्रममा केन्द्रीय सदस्य डा शेखर कोइरालाले कांग्रेसलाई सुधार गरेर अघि बढ्ने बताए । उनले भने, “हामी कांग्रेसलाई कमजोर हुन दिँदैनाैँ । सुधार गरेर अघि बढ्छौँ ।” पार्टीलाई अझै सशक्त बनाएर अघि बढ्ने उनको भनाइ थियाे ।

केन्द्रीय सदस्य रमेश लेखकले अहिलेको व्यवस्था र संविधानमाथि आक्रमण भइरहेको बताए । लामो सङ्घर्षपछि ल्याएको व्यवस्था र संविधानमाथिको आक्रमण रोक्नका लागि कानून व्यवसायीको महत्त्वपूर्ण भूमिका रहने उनको भनाइ थियो । न्यायालयमा भएका विकृति र विसङ्गति रोक्नका लागि राजनीतिज्ञ र कानून व्यवसायी एक ठाउँमा उभिन आवश्यक रहेको उनले बताइन् ।

पूर्वी चितवनको रत्ननगरमा आज र भोलि हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनमा देशभर ८८ एकाइका प्रजातान्त्रिक पक्षधर १३ हजार कानून व्यवसायीमध्येबाट एक हजार चार सय एक जना महाधिवेशन प्रतिनिधि सहभागी हुनुहुन्छ । नयाँ नेतृत्वमा सर्वसम्मत बनाउने प्रयास भइरहेको छ ।