सभापति देउवाले नेतृत्व हस्तान्तरण गर्नुपर्छ : गगन थापा

सभापति देउवाले नेतृत्व हस्तान्तरण गर्नुपर्छ : गगन थापा



विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुस्तान्तरणका लागि कांग्रेसमा नेतृत्व हस्तान्तरण हुनुपर्ने बताएका छन् । उनले पार्टी सभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोड दिँदै अब भविष्यमा प्रधानमन्त्री बन्ने लोभ नगर्न पनि सुझाएका छन् ।

मोरङ क्षेत्र नम्बर ३ को क्षेत्रीय सम्मेलनमा सहभागी हुन आउने क्रममा मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै थापाले अहिलेको माग नै पार्टीमा पुस्तान्तरण र नयाँ नेतृत्वको भएको बताए ।

“अहिलेको माग नै पार्टीमा पुस्तान्तरण र नयाँ नेतृत्वको हो । त्यसैले अब सभापतिले प्रधानमन्त्री वा अन्य पदमा दाबी गर्नु हुँदैन,” उनले भने ।

उनीसँग सञ्चारकर्मीले वरिष्ठ नेता शेखर कोइरालासँगको सम्बन्धबारे पनि प्रश्न गरेका थिए । पछिल्लो समय सभापति शेरबहादुर देउवासँग कोइराला निकट भएको चर्चा भइरहेको छ ।

जवाफमा थापाले आफूहरूसँगको सम्बन्धमा कुनै फेरबदल नभएको जिकिर गरे ।

“१४औँ महाधिवेशनदेखिको सबन्धमा अहिलेसम्म पनि प्रगाढ छ । १५औँ महाधिवेशनमा थप साथीहरू जोडिनु हुने छ । भएकाहरू पनि हाम्रो साथमै रहनु हुने छ । गुम्नु हुने छैन,” उनले भने ।

नेपाली जनताले कांग्रेसबाट नयाँ प्रधानमन्त्रीको खोजिरहेकाले सभापतिले दुवै पद छाड्नुपर्ने थापाको भनाइ छ । “कांग्रेस नेतृत्वको सरकार बन्नुभन्दा अगाडि नै उहाँले मार्ग प्रशस्त गर्नुपर्छ,” थापाले भने ।

‘मैले कुनै रिसइबी लिएर भनिरहेको छैन । पार्टी हितका लागि हो । नेपाली कांग्रेसले नयाँ नेतृत्व खोजी रहेको छ । यी कुरा लागु गर्न म लागिरहेको छु । अझै लाग्छु । परिवर्तन गर्न लागि रहेको छु, जोखिम उठाउने हो । फलका विषयमा चिन्ता गर्ने होइन । आज मेरो काम भनेको नेतृत्व र सरकारको नेतृत्व परिवर्तन गर्ने भन्ने हो,’ उनले भने ।