सांसद पन्तको प्रश्न : सरकारको दृष्टिकोण हिन्दुराष्ट्रलाई प्रोत्साहन दिने हो ?

सांसद पन्तको प्रश्न : सरकारको दृष्टिकोण हिन्दुराष्ट्रलाई प्रोत्साहन दिने हो ?



काठमाडौं । नेकपा (एमाले)का सांसद रघुजी पन्तले प्रधानमन्त्रीको भारत भ्रमणपछि नेपालको परराष्ट्र नीतिमा खलबल आउन लागेको देखिएको भन्दै आपत्ति जनाएका छन् । उनले नेपालको परराष्ट्र नीति फेरबदल हुन लागेको हो वा खलबल ल्याउन खोजिएको हो भन्नेबारे सरकारले जवाफ दिनुपर्ने बताए ।

पन्तले भने, ‘नेपाल लामो समयदेखि नै आफ्नो असंलग्न परराष्ट्र नीतिमा अडिग रहँदै आएको छ । पञ्चायत आयो, गयो, बहुदल आयो, लोकतन्त्र आयो, नयाँ संविधान बन्यो । तर नेपालले कहिल्यै पनि परराष्ट्र नीतिमा फेरबदल ल्याएको छैन । तर पछिल्लो समय प्रधानमन्त्री भारत भ्रमणमा गएर फर्किएपछि त्यसमा खलबल हुन थालेको अनुभूति भइरहेको छ कि नेपालको परराष्ट्र नीति फेरबदल हुन लागेको हो ?’

पन्तले भारतका लागि नेपालका राजदूत डा. शंकर शर्माको अभिव्यक्तिमाथि प्रश्न गरेका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा उनले यही जेठ २९ गते कान्तिपुर दैनिकमा दिएको अन्तर्वार्तामा राजदूत शर्माले उठाएको विषयले नेपालको परराष्ट्रनीतिबारे आशंका व्यक्त गरे ।

उक्त अन्तर्वार्तामा हिन्दुराष्ट्रको वकालत गरिएको उनले आरोप लगाए । धर्मनिरपेक्षताको नेपालको नीतिमा प्रश्न खडा गरेको पन्तको भनाइ छ ।

बीआरआईबारे सोच्नुपर्छ भनेकामा पनि उनले आपत्ति जनाए । ईपीजी प्रतिवेदनबारे सरकारले संसद्लाई स्पष्ट जवाफ दिन उनले माग गरे ।

“के सरकारको दृष्टिकोण हिन्दुराष्ट्रलाई प्रोत्सहान दिने हो ? धर्मनिरपेक्षताबारे नेपाल सरकारको दृष्टिकोण के हो ? यो संसद्लाई स्पष्ट पारियोस्,” पन्तले भने, “के नेपाल हिन्दुराष्ट्र भए मात्रै दुई देशको सम्बन्ध राम्रो हुने हो ? त्यसो हो भने २०४६ सालमा किन नाकाबन्दी लगाएको हो ?”