बजेट ल्याइएको होइन, लुटिएको हो : अध्यक्ष राउत

बजेट ल्याइएको होइन, लुटिएको हो : अध्यक्ष राउत



काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके साउतले आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याइएको नभइ लुटिएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै अध्यक्ष राउतले यस्ताे बताएका हुन् ।

उनले बैंक लुटे जसरी चार यारहरूले बजेट लुटेको र अध्याँरो कोठामा गएर भागबण्डा गरेको बताए । सरकारले जुट्ने क्रम जारी रहेको उनको भनाइ छ ।

उनले भने, “बजेट ल्याएको हो कि बजेट लुटेको हो भन्नेकुरा स्पष्ट देखिँदैन । यसो हेर्दा बजेट लुटिएको हो जस्तो देखिन्छ । बजेट बनाएको, ल्याएको होइन, बजेटलाई चार यारहरूले लुटेर गएका जस्ता देखिन्छन् । बाटोमा लैजाँदै गर्दा कतै खुद्रा पैसाहरू खस्दै गएको देखिन्छ । चार यारहरू मिलेर अध्याँरोमा गएर बाँडफाँट गरेको जस्तो स्पष्ट रूपमा देखिन्छ । वैशाखमा बारामा मत पेटिका लुटे, जेठमा आएर बजेट लुट्ने काम सरकारले गर्दै आएको छ । लुट्ने प्रवृत्ति क्रमिक रूपमा जारी नै छ ।”

अध्यक्ष राउतले बजेटको सम्बन्धमा दिइएका कुनैपनि सुझावहरू कार्यान्वयन नहुने गरेको पनि बताए । उनले एक महिना बहस हुँदा पनि बजेटमा कमा र फुलस्टप समेत परिवर्तन नहुने गरेको भन्दै यसो हुनु संसद् र सांसदहरूको निरीहता भएको बताए ।