पूर्वी पहाडमा बाढीपहिरोको बितण्डा, प्रधानमन्त्री, मन्त्री र सांसदहरु निरीक्षणमा

पूर्वी पहाडमा बाढीपहिरोको बितण्डा, प्रधानमन्त्री, मन्त्री र सांसदहरु निरीक्षणमा



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पूर्वी पहाडी जिल्लाको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण निस्किएका छन् । 

प्रधानमन्त्री प्रचण्डसहित उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र सहरी विकासमन्त्री सीता गुरुङ तथा प्रभावित क्षेत्रका जनप्रतिनिधिहरु योगेश भट्टराई, बसन्त नेङ्वाङ, दिपक खड्का, राजेन्द्र कार्की (कोशी प्रदेशसभा) बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणमा गएका हुन् । 

नेपाली सेनाको हेलिकप्टरमार्फत उनीहरुले प्रभावित क्षेत्रको अवलोकन गर्नेछन् । साथै सो टोलीमा नेपाली सेनाका प्रधानसेनापति, गृह मन्त्रालयका बिपत हेर्ने प्राविधिक इन्जिनियर र प्रधानमन्त्री कार्यालयका विपत हेर्ने अधिकृत पनि सहभागी रहेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रधानमन्त्री प्रचण्डको निर्देशनमा प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकप्टरमार्फत उद्दारको काम जारी छ । बाढी र पहिरोमा फसेकालाई उद्दार गरिएको छ भने सोमबार नै भौतिक पूर्वाधार मन्त्रालयद्वारा केन्द्रीय सडक संजालबाट अलगावमा परेका पाचथर र ताप्लेजुङलाई जोड्न बेलिबृजको सामान प्रभावित क्षेत्रमा पठाइएको सचिवालयले जनाएको छ ।

गत शनिबारयता परेको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण पूर्वी नेपालमा ८ जनाको मृत्यु भएको छ भने २८ जना अझै बेपत्ता छन् । प्रहरीका अनुसार  तीन जना महिला र २५ जना पुरुष बेपत्ता भएका  हुन् ।

संखुवासभामा १८ जना बेपत्ता छन् ।  पाँचथरमा तीन, ताप्लेजुङमा तीन, भोजपुरमा दुई जना बेत्तपा भएका छन् । उनीहरूको खोजी कार्य भइरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पाँचथरमा १२ वटा पुलमा क्षति पुगेको छ भने मेची राजमार्ग अवरुद्ध भएको छ ।