बदलिएको कांग्रेसले मात्रै मुलुक बदल्न सक्छ : गगन थापा

बदलिएको कांग्रेसले मात्रै मुलुक बदल्न सक्छ : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बदलिएको कांग्रेसले मात्रै मुलुक बदल्नसक्ने बताएका छन् । सोमबार काठमाडौंमा भएको ट्रेड युनियन कांग्रेसको ७ औं महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले देश बदल्नकाे लागि सबैभन्दा पहिला कांग्रेस बदल्न आवश्यक रहेको बताए ।

अहिले जसरी नै चल्ने हो भने कांग्रेस दुर्घटनामा जाने उनको भनाइ छ । पार्टीलाई दुर्घटनाबाट बचाउन फरक ढंगमा हिँडाउनुपर्ने उनले बताए ।

उनले भने, ‘सिङ्गो नेपाली कांग्रेस सञ्चालन गर्ने तरिका बदल्नुपर्ने छ । नेपाली कांग्रेसले आफूलाई बदलेन भने कांग्रेस कांग्रेसजस्तो हुँदैन । देश नबदली भएको छैन । देश बदल्न सकिन्छ भन्नेकुरा महामन्त्री विश्वप्रकाश शर्मासँग सहमत छु । देश बदलिँदैन कि भन्ने डरबाट युवाहरु विदेश भागिरहेका छन् भन्ने लक्ष्मण दाइको चिन्ता आएको छ । यो बीचमा कांग्रेसले देश बदल्दैन भनेर युवा विदेसिएका चिन्ता मानेर,देश बदलिन्छ भन्ने आत्माविश्वास लिएर जाँदा देश बदलिन्छ तर देश बदल्नका लागि नेपाली कांग्रेसले आफूलाई बदल्छ ।’

कांग्रेसलाई आफूहरूले बदल्दै लैजाने भन्दै महामन्त्री थापा भने, ‘कांग्रेस हाम्रो घर हो । हाम्रो जीवन लागेको छ । देशमा अप्ठ्यारो परेको बेला नेपाली कांग्रेसले ठीक ढङ्गले देशलाई समालेन भने देशको अर्को १० देखि १५ वर्ष जान्छ । अप्ठ्यारो बेला कांग्रेस देश सम्हाल्नुपरेको छ ।’