औंला ठड्याएर पार्टीमा रुपान्तरण सम्भव छैन : पूर्णबहादुर खड्का

औंला ठड्याएर पार्टीमा रुपान्तरण सम्भव छैन : पूर्णबहादुर खड्का



काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री तथा नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अर्कालाई औंला ठड्याएर पार्टीमा रुपान्तरण सम्भव नरहेको बताएका छन् ।

सोमबार काठमाडौंमा भएको ट्रेड युनियन कांग्रेसको ७ औंँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टीका महामन्त्री गगनकुमार थापाप्रति लक्षित गर्दै कसैप्रति औँला ठड्याएर परिवर्तन र रुपान्तरण सम्भव नरहेको जिकिर गरे ।

उनले आफ्ना कमजोरी र गल्तीहरु सच्याएर अघि बढ्नसके मात्रै रुपान्तरण सम्भव भएको बताए । उनले पार्टी र सरकारलाई जीवित बनाउने काम केन्द्रदेखि वडा तहका नेताहरुको रहेको उल्लेख गरे । उनले पार्टीको अहिलेको परिस्थितिलाई सुधारेर र सपारेर मात्रै तीव्र गतिमा समय सापेक्ष दिशातर्फ जान सकिने उल्लेख गर्दै पार्टीमा सबैले निष्ठाको संकल्पसहित आफूलाई समर्पित गर्ने बेला आएको बताए ।

उपप्रधानमन्त्री खड्काले नयाँ संकल्पबाट सबै एकतावद्ध हुन र छलफलबाट सबै समाधान निकाल्न आवश्यक रहेको भन्दै एकले अर्काको दोष र गल्ती कोट्याएर स्थायी समाधान हुन नसक्ने बताए ।