प्रतिनिधिसभा बैठक १५ मिनेट स्थगित

प्रतिनिधिसभा बैठक १५ मिनेट स्थगित



काठमाडौं । सभामुख देवराज घिमिरेको ‘रुलिङ’ मान्ने र नमान्ने विवादका कारण प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत सहरी विकास, खानेपानी, अर्थ र श्रम तथा रोजगार मन्त्रालयका लागि छुट्याइएको बजेटमाथि छलफल भइरहेको थियो ।

बैठकमा नेपाली कांग्रेसले सभामुखको रुलिङ स्वीकार गर्दै अघि बढ्न प्रस्ताव गरेको थियो । तर, नेकपा (एमाले)ले रुलिङमा एकरूपता हुनुपर्ने भन्दै अस्वीकार गरेपछि सभामुख घिमिरेले बैठक नै १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

“सभामुख महोदय, सरकारका तर्फबाट गम्भीर त्रुटिहरू भइरहेका छन् । सत्तापक्षले समेत उठाउने विषय प्रतिपक्षले उठायो, ठिक गरेको छ । हिजो पर्यटन मन्त्रालयले त्रुटि गरेर रुलिङ भएको थियो, आज सहरी विकास मन्त्रालयले त्यही गल्ती दोहोर्‍याएको छ,” कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने, “गल्ती भएकै हो । प्रतिपक्षले आफ्नो धर्म ठिकसँग निर्वाह गरेकै छ । तर, सभामुखले गरेको रुलिङ स्वीकार गरेर जाऔँ ।”

एमाले सांसदहरूले लुम्बिनी प्रदेशको ठाउँमा प्रदेश नम्बर–५ लेखिएको विषय नसच्याउँदासम्म छलफल गर्न नदिने अडान राखेका थिए ।

एमालेका सांसद सूर्य थापाले सहरी विकास मन्त्रालयको पुस्तकको २७, २८ र २९ नम्बरमा प्रदेश नम्बर–५ उल्लेख भएको भन्दै त्यो नहटाउँदासम्म छलफल हुन नसक्ने बताएका थिए । सहरी विकासमन्त्री सीता गुरुङले त्रुटि भएको स्वीकार गरिन् । लिखितमा भएको त्रुटि सच्याइने भन्दै उनले छलफल अघि बढाउन आग्रह गरेकी थिइन् । उनको प्रस्तावपछि सभामुखले छलफल अघि बढाउन रुलिङ गरे ।

त्यसपछि सांसद थापाले सभामुखको रुलिङ अस्वीकार गर्दै फरक तर्क गरेका थिए । थापाले प्रस्ताव अस्वीकार गरेपछि लेखकले रुलिङ स्वीकार गरेर अघि बढ्न प्रतिपक्षलाई सभामुखमार्फत आग्रह गरे ।

लेखकको प्रस्तावपछि बोलेका एमाले सांसद रघुजी पन्तले सभामुखको रुलिङ मान्नुपर्ने बताए । तर, रुलिङमा एकरूपता हुनुपर्नेमा उनले जोड दिए ।

“सभामुखको रुलिङ सबैले मान्नुपर्छ । तर, रुलिङमा एकरूपता हुनु जरुरी हुन्छ । सभामुखको रुलिङ नै आपसमा विवादित भयो भने कुनचाहिँ रुलिङ मान्ने ?,” पन्तले भने ।