भारतीयहरु नेपाललाई किन आफ्नै प्रान्तजस्तो ठान्छन्

भारतीयहरु नेपाललाई किन आफ्नै प्रान्तजस्तो ठान्छन्

सगरमाथा, लुम्बिनी, बुद्ध, सितालाई भारत आफ्नै हो भनेर प्रचार गर्छ। तर हामी उसँग प्रतिबाद गर्न सक्दैनौं किनकी हामीले त्यो हैसियत गुमाइ सकेका छौं



एउटा भारतीय पर्यटक बिना भिषा इन्डियन एयरलाइन्स हुँदै जब त्रिभुवन एयरपोर्ट आइपुग्छ । एयरपोर्टबाट बाहिरिएपछि उ गन्तव्यमा जान ट्याक्सी बोलाउँछ । त्यहाँ भारत मै बनेको मारुती ट्याक्सी आइपुग्छ। नेपाली ट्याक्सी चालकले हिन्दी भाषा मै सोध्छ ‘किधर जाना हे सरजी’ जब उ ट्याक्सीमा चढ्छ, ट्याक्सीमा एफएम रेडियो बजिरहेको हुन्छ– सुपर हिट हिन्दी गीत, उ सोही गीत सुन्दै ट्याक्सीको झ्यालबाट यसो सहर नियाल्छ। फिल्मको पोस्टरमा पनि हिन्दी फिल्म नै देख्छ ।

विज्ञापनको होर्डिङबोर्डमा भारतीय कलाकारहरु अमिता बच्चन, शाहारुख खान, सलमान खान, दिपिका पादुकोन, एश्वोर्या रायको नै फोटो छ। अब उ होटल पुग्छ र फ्रेश हुन बाथरुम जान्छ । साबुन हेर्छ लक्स छ, टुथपेस्ट र ब्रस क्लोजअप छ, स्याम्पु सनसिल्क छ, तौलिया मेड इन इन्डिया नै छ। कमोट हेर्यो हिन्दवयर, धारा हेर्यो ज्याकुवार, बाथरुमको टायल कजरिया नै छ । अनि उ बाथरुमबाट फ्रेस भएर जब रुममा बस्दै टिभी खोल्छ। टिभीमा पनि हिन्दी सिरियल नै आइरहेछ।

जब उसलाई भोक लाग्छ वयटरलाई बोलाएर मेनु सोध्छ । वयटरले पनि हिन्दी भाषामा मै उसलाई इन्डियन, चाइनिज, इटालियन, कन्टिनेन्टल के खाने भन्छ। नेपाली खानाको नाम त उच्चारण नै हुँदैन। उ अब घुम्न बजार निस्कन्छ। बजारमा उसले खरिद गरेको सामानको भुक्तानीको रकम निर्बाध रुपमा आइसी (भारतीय मुद्रा) रकम मै हुन्छ।

यसरी उ नेपालमा घुम्न आए पनि उसलाई नेपालको माहोल भारतको कुनै शहरतिर नै घुमिरहेको जस्तो लाग्छ । उ जब फर्कदा पनि एयर इन्डिया हुँदै फर्कन्छ उसलाई अन्तिम सुरक्षा चेक जहाजभित्र भारतीय सुरक्षाकर्मीहरुले नै गर्दछन् । अनि उ जब आफ्नो देश भारत पुग्छ । उ सबै जनालाई भन्न थाल्छ नेपाल त भारत कै कुनै शहर जस्तो पो रहेछ।

मैले आफ्नो बिजनेसको सिलसिलामा धेरै भारतीय बिल्डर्सहरु वा अन्य विविधाका भारतीय बिजनेस म्यानहरु (बिशेष गरी दक्षिण भारतीयहरु) सँग भेटघाट वा अन्तरङ्ग गरेको छु। उनीहरू प्राय सबैको समान धारणा अनि बुझाइ छ। नेपाल भारतको कुनै प्रान्त हो वा भारतले नेपाललाई निगाह गरेर स्वतन्त्र छोडिदिएको हो भन्ने उनीहरुको बुझाइ छ।

मैले आफूसँग भेटेको यस्ता भारतीयहरुलाई तथ्य र तर्कसहित प्रतिबाद गरेर उनिहरुलाई सहमत गराएको छु। यो बुझाइ ति बिजनेस म्यानहरुको मात्र होइन त्यहाँको अधिकांश नेतृत्व बर्ग, कर्मचारीतन्त्र, बुद्धिजीवी, पत्रकार, नागरिक समाज र आम सर्बसाधारणको पनि त्यस्तै नै छ। जसको कारण उनीहरु नेपाललाई भारतकै आँखिझ्यालबाट हेर्छन्। किनकी भारतको नेतृत्वबर्ग र कर्मचारीतन्त्रको मानसिकता अहिले पनि सरदार बल्लभ भाइ पट्टेल कै नीति अनुसरण गर्ने खालको छ।

यी माथिको प्रतिनिधि घटनाले के देखाउँछ भने कुनै पनि देश आफूमा आत्मनिर्भर हुनै पर्दछ । त्यसको लागि देशमा धेरै कुराहरु उत्पादन हुनु पर्दछ। देश सानो हुँदैमा कमजोर हुँदैन। स्वीट्जरल्यान्ड युरोपको सानो देश हो भुपरिबेस्टिक भए पनि उ युरोपभरि कै सम्बृद्ध मुलुक हो । उसले उत्पादन गरेको घडी विश्व प्रसिद्ध छ। उसको देशमा रहेको स्वीस बैंकमा संसारको पुँजीपतीहरुले रकम जम्मा गर्छन्।

यो उसले सुरक्षा र गोपनीयतामा बिश्वास दिलाउन सकेकाले हो । त्यस्तै गरेर सानो मुलुक सिङ्गापुरमा संसारका बहुराष्ट्रिय कम्पनीहरु कम्तिमा पनि आफ्नो एउटा कार्यालय राख्न लालायित हुन्छन्। यो उसको ब्यापारिक नीति हो । त्यसै गरेर डेन्मार्क, फिनल्यान्ड, नर्वेजस्ता साना देशहरु अमेरिका, रुस, चीन भारत जस्ता देशलाई ऋण दिन सक्ने हैसियत राख्छन् । कुबेत जस्तो सानो मुलुकको मुद्रा संसार कै महँगोमा पर्छ।

कट्टर मुस्लिम राष्ट्रहरुको बिचमा रहेको सानो देश इजरायलले आफ्नो अस्तित्व जोगाउँदै र प्रविधिमा चमत्कारिक फड्को मारेर बिश्वकै शक्ति राष्ट्रलाई आफ्नो हतियार र टेक्नोलोजी बेचेर आफूलाई सर्ब शक्तिवान रास्ट्र बनाएको छ। औसतमा सानो एसियाली राष्ट्रहरु जापान, दक्षिण कोरिया ताइवान, मलेसियाले मोटर, मोबाइल, चिप्सलगाएतका अनेकौं टेक्नोलोजीका सामानहरु उत्पादन गरेर आर्थिक रुपमा महाशक्ति राष्ट्र बनेका छन्। त्यसैले आत्मसम्मानका लागि आत्मनिर्भर हुन जरुरी छ ।

भारतले एक हप्ता मात्र खाद्यान्न रोकिदियो भने नेपालमा हाहाकार मचिन्छ। नेपालमा अनिकाल सुरु हुन्छ। यस्तो मनस्थितिबाट गुज्रिएको हाम्रो आत्म स्वाभिमानमा हामीलाई जोसुकैले पनि प्रहार गर्छ। त्यसैले आत्मनिर्भर नभई नारामा मात्र उरालिएको राष्ट्रबादले राजनीतिक खपत त गर्ला तर राष्ट्रियता झन झन कम्जोर हुँदै जान्छ।

पुनस्चः माथि उल्लेखित भारतीय पर्यटक को कुरा एउटा प्रतिनिधि घटना भएको हुँदा यसलाई रास्ट्रवादको आँखाले नहेरी हाम्रो अहिलेको परिस्थितिलाई तुलना गरौ।