एमालेले चाहे एक हप्ताभित्र सरकार ढल्छ : सचेतक बर्तौला

एमालेले चाहे एक हप्ताभित्र सरकार ढल्छ : सचेतक बर्तौला



काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले एमालेले चाहेमा एक हप्ताभित्रमा सरकार ढाल्ने बताएका छन् ।

बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सरकारको आयु प्रत्येक एक दिनका लागि भएको बताए ।

सचेतक बर्तौलाले सरकार एमालेको प्रयत्नले नभई गठबन्धनभित्रकै अन्तर्विरोध, असमझदारी र अविश्वासले ढल्ने दाबी गरे ।

सचेतक बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ताबाट हट्नुपर्ने हो कि भन्ने त्रासका कारण समाजवादी मोर्चा बनाएको समेत बताए । समाजवादी मोर्चाले देशलाई अन्यौलता र अस्थिरतातर्फ लान मद्दत पुर्‍याउने उनले बताए ।

उनले भन,‘नेकपा एमालेले यस प्रकारको मोर्चा बनाएर हिँड्नुपर्ने जरुरी छैन । एमाले आफ्नो सामथ्र्यका साथ, जनताले दिएको म्याण्डेटको बलमा संसदमा आफ्नो भूमिका निर्वाह गरिरहेको छ । नागरिकहरूको मुद्दालाई केन्द्रमा राखेर, राष्ट्र हितको विषयलाई केन्द्रमा राखेर हाम्रो उपस्थिति देखाइरहेका छौँ । यो सरकारलाई हामीले कुनै मेहनत गर्नुपर्दैन । यदि नेकपा(एमाले)ले चाहेर यसलाई ढाल्नका लागि प्रयत्न गर्ने हो भने हामी एक हप्ता भित्रमा यो सरकारलाई ढाल्न सक्छौँ । यो सरकारको आयु प्रत्येक दिन एक दिनका लागि हो ।’