बजेट यथास्थितिमा पारित हुन्‍न : जसपा

बजेट यथास्थितिमा पारित हुन्‍न : जसपा



काठमाडौं । सत्तारुढ घटक जनता समाजवादी पार्टीले संसद्‌मा प्रस्तुत बजेटले धेरै क्षेत्रलाई उपेक्षा गरेकाले त्यसलाई यथास्थितिमा पारित गर्न नसकिने बताएको छ ।

बिहीबार पत्रकार सम्मेलन गरी बजेटमा सुधारको जरुरी रहेको बताउँदै अध्यक्ष उपेन्द्र यादवले भने, ‘अहिलेको बजेटमा एकलौटी ढंगले गठबन्धनमा रहेका दलसँग छलफल नै नगरी ल्याइएको छ । मधेस लगायतलाई उपेक्षा गरेको छ । यसलाई सुधार गर्नुपर्छ, यथास्थितिमा बजेट पास हुन्न, बजेट न्यायोचित छैन ।’

उनले समाजवादी मोर्चामा बाबुराम भट्टराईको दललाई नसमेटेको विषयमा पनि टिप्पणी गरे । भट्टराई एक्लै हिँड्न रुचाउने व्यक्ति भएको यादवको भनाइ छ । ‘बाबुरामलाई हामीले समातेको पनि हैन छोडेको पनि छैन । यो मोर्चामा कहिल्यै देखिनँ’ यादवले भने,’बाबुरामजीको एक्लै हिँड्ने बानी छ । त्यसैले ठिकै जस्तो पनि छ । सबैलाई समेट्ने होइन, समेटिनेलाई समेट्ने हो ।’

मोर्चामा संलग्न रहेका दलहरु एउटै पार्टीको रुपमा नरहेकाले यसलाई मिल्ने मुद्दामा सहकार्यको रुपमा मात्र बुझ्नुपर्ने यादवको धारणा छ ।