आम नागरिकसम्म पुग्नुपर्ने चुनौती छ : रवि लामिछाने

आम नागरिकसम्म पुग्नुपर्ने चुनौती छ : रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी दिनमा आम नागरिकसम्म पुग्नुपर्ने चुनौती रहेको बताएका छन् । बिहीबार बसेको केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठकपछि पार्टी कार्यालय बालाजुमा आयोजित पत्रकार सम्मेलनमा उनले एक वर्षको अवधि उर्जावान र सकारात्मक रहेको पनि बताए ।

उनले भने, ‘यो एक वर्षको यात्रा अत्यन्त सकारात्मक रह्यो । हामीलाई आम नागरिकसम्म पुग्नुपर्ने चुनौती छ, हाम्रा विचार, नीतिहरु हामी कुन ढंगले अगाडि बढ्दै छौं आम नागरिकलाई बुझाउनुपर्ने छ । सुरुवात गर्दा हामीलाई विश्वास त थियो । तर त्यो विश्वास मतमा बदलिन्छ कि बदलिँदैन भन्ने कुराको हेक्का थिएन । समाजमा परिवर्तनको घण्टी बजिसकेको छ, ।’ उपनिर्वाचनसम्म आइपुग्दा रास्वपाबारे आम नागरिकलाई थाहा भए पनि मतमा रुपान्तरण गर्न काम गर्नुपर्ने उनले बताए ।

‘योग्य, क्षमतावान मान्छेहरुको एउटा प्रतिबद्ध समूह राजनीतिक दलका रुपमा आयो भन्ने कुराको जानकारी भयो । त्यसलाई मतमा रुपान्तरण गर्ने गरी काम गर्नुपर्ने छ,’ लामिछाने भने, ‘संगठन विस्तार गरेर हामीले चाहे जस्तो नेतृत्वको विकास गरेर ठूलो बन्ने हो । ठूलो बन्नु संख्यामा मात्र ठूलो भन्ने कुरा भएन । पार्टी संगठनलाई परिणाम मुखी बनाउने ठूलो चुनौती छ ।’

लामिछानेले आफ्नो पार्टीमा हर्क साम्पाङ र बालेन शाहलाई जोड्न सके खुसी हुने बताएका छन् ।

“हर्क र बालेनलाई जोड्न सके असाध्यै राम्रो हुन्थ्यो,” उनले भने, “हाम्रो चाहना छ सय प्रतिशत सकारात्मक छौँ । उहाँको कामको प्रसंशा गरेकै छु । चुनावदेखि राम्रा कामलाई समर्थन गर्दै आएको छु ।”