ओमानले दिएको लक्ष्य श्रीलंकाले १५ ओभरमै भेट्टायो

ओमानले दिएको लक्ष्य श्रीलंकाले १५ ओभरमै भेट्टायो



काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोटमा श्रीलंकाले ओमानलाई १० विकेटले हराएको छ ।

जिम्बावेको बुलावायोमा ओमानले दिएको ९९ रनको सामान्य लक्ष्य श्रीलंकाले कुनै पनि विकेट नगुमाइ १५औँ ओभरमा भेट्टायो । उसका लागि दिमुथ करुणारत्नेले ६१ र पथुन निसंकाले ३७ रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमान ३० ओभर २ बलमा ९८ रनमा अलआउट भयो । उसका आयान खानले ४१, जितेन्दर सिंहले २१ र फायाज बटले १३ रन बनाउनुबाहेक अरु कसैले पनि दोहोरो अंकमा रन बनाउन सकेनन् ।

श्रीलंकाका विनिन्दु हसरंगाले पाँच, लाहिरु कुमाराले तीन र कसुन रजिथाले एक विकेट लिए । लगातार दोस्रो जितसँगै श्रीलंका ४ अंकका साथ समूह ‘बी’ को शीर्ष स्थानमा पुगेको छ । तीन खेलमा ४ अंक भएको ओमान दोस्रो स्थानमा छ ।