नेकपा विभाजनको यथार्थ विश्लेषण गर्नुपर्छ : ओली

नेकपा विभाजनको यथार्थ विश्लेषण गर्नुपर्छ : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा विभाजनको यथार्थ विश्लेषण गर्नुपर्ने बताएका छन् । आइतबार केशवप्रसाद बडालद्वारा लिखित पुस्तक सिंहावलोकनको लोकर्पण कार्यक्रममा ओलीले नेकपा विभाजनका कारणहरूको यथार्थ विश्लेषण गरे भविष्यलाई राम्रो हुने बताए ।

ओलीले भने, “अढाइ वर्षअघि हाम्रो पार्टी विभाजन भयो, त्यो विभाजन यसले यसो भन्यो, यसो भन्यो भनेर मात्रै हुँदैन । त्यसका पछाडिका कारणहरू के थिए ? उद्देश्यहरू के थिए ? किन विभाजन भयो ? किन गरियो ? कस्तो पृष्ठभूमिबाट त्यो विभाजनसम्म पुग्यो ? यी कुराहरू आउनुपर्छ ।”

उनले नेकपा विभाजन हुनुको कारण ‘स्वचालित थियो वा परिचालित के थियो ?’ त्यसको विश्लेषण जरुरी रहेको बताए ।

“विभाजन भयो भन्ने मात्रै कुरा भन्दा अलि त्यसलाई किन र कसरी ? केका लागि विभाजन भयो ? के उद्देश्य थियो ? त्यसमा आन्तरिक कारण कति थियो ? बाह्य कारण कति थियो ? स्वचालित कति थियो ? परिचालित कति थियो ?,” ओलीले भने ।

उनले नेकपा विभाजनको यथार्थ विश्लेषणले आन्दोलनको हितका लागि राम्रो हुने बताए ।