पशुपतिनाथमा राखिएको जलहरीबारे संसद्‌मा सत्यतथ्य जानकारी गराउन माग

पशुपतिनाथमा राखिएको जलहरीबारे संसद्‌मा सत्यतथ्य जानकारी गराउन माग



काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा राखिएको जलहरीको सुनका बारेमा सत्ततथ्य जानकारी गराउन माग गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा उनले जलहरीका विषयमा भएको के हो भन्ने प्रश्न गरे ।

पौडेलले भने, “भएको के हो ? आज पशुपति क्षेत्र विकास कोष, नेपाल प्रहरी, सुरक्षा निकाय, सुनचाँदी व्यवसायी संघ, गुणस्तर तथा नापतौल विभाग, पुरातत्त्व विभाग, खानी तथा भूगर्भ विभाग र जनप्रतिनिधिहरूले त्यहाँको सुनको खोजी गरेर जोख्दै हुनुहुन्छ भन्ने सुनेका छौँ ।”

जलहरी जोख्ने विषय ट्रकमा ल्याएको सामान जोख्नेजस्तो नभएको उनको भनाइ छ । “कति सुन हराएको हो ? कति सुन बाँकी छ ? के स्थिति छ ? यो कुनै ट्रकमा ल्याएको सामग्री जोख्ने कुरा होइन । सदन (संसद्)मा सत्यतथ्य जानकारी गराउन सम्माननीय समामुखमार्फत सम्बन्धित निकायलाई अनुरोध गर्दछु,” सांसद पौडेलले भने ।