पशुपतिको स्वर्ण जलहरीमा अनियमितता नभेटिएको प्रारम्भिक निष्कर्ष

पशुपतिको स्वर्ण जलहरीमा अनियमितता नभेटिएको प्रारम्भिक निष्कर्ष



काठमाडौं । पशुपतिनाथ मन्दिरमा राखिएको स्वर्ण जलहरी नाप जाँचमा खटिएको टोली अनियमितता नभेटिएको प्रारम्भिक निष्कर्षमा पुगेका छन् ।

जलहरी जोख्दा १०७.४६८७ किलोग्रामको पाइएको छ । जलहरीको नापतौल तथा शुद्धता परीक्षण गर्दा १०७.७६ किलोग्राम हुनुपर्नेमा १०७.४६८७ किलोग्राम भएको पाइएको अख्तियार स्रोतले जानकारी दिएको छ ।

जलहरीलाई पुन: मर्मत गरी मंगलबार पशुपतिमा चढाउने निर्णय भएको छ । सोमबार नेपाली सेनाको सुरक्षामा शिलबन्दी गरी पशुपतिको रुद्रगारेश्वरमा निर्मित लकरमा राखिएको छ। मंगलबार ज्योतिर्लिङ्गमा राखिनेछ । जलहरी आइतबार मध्यरातसम्म लगाएर जोखिएको हो । जलहरी नापजाँचको प्रतिवेदन अख्तियारले आज लिएर गएको छ ।

गुणस्तर तथा नापतौल विभाग, पुरातत्त्व विभाग, खानी तथा भूगर्भ विभाग, नेपाल सुनचाँदी व्यवसायी महासंघ, पशुपति क्षेत्र विकास कोष र चारवटै सुरक्षा निकाय तथा स्थानीय जनप्रतिनिधिको रोहबरमा परिमाण, गुणस्तर एवं धातुको मात्रा परीक्षण गरिएको हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्माओलीले ०७७ माघ १२ मा पत्नी राधिका शाक्य र सहयोगीका साथ पशुपतिनाथ मन्दिर पुगेर ‘सङ्कल्प पूजा’ गरेर करिब एक अर्ब रुपैयाँ लागतमा जलहरी राख्ने घोषणा गरेका थिए ।

सुनको जलहरी राख्न ओलीले सरकारका तर्फबाट ३० करोड दिने घोषणा गरेका थिए । कोषले सरकारबाट प्राप्त हुने रकममा ५० करोड ११ हजार थपेर करिब ८० करोड लागतमा १०८ केजीको जलहरी राख्ने निर्णय गरेको थियो । जलहरी निर्माणका क्रममा २४ क्यारेटको सुन पगालेर २२ क्यारेटको बनाउने र त्यसमा ३ प्रतिशत तामासँगै एक प्रतिशत चाँदी मिसाइएको कोषले जनाएको छ ।

राष्ट्र बैंकबाट ८० करोड ११ हजार रुपैयाँमा सुन खरिद गरेर अपारदर्शी रूपमा जलहरी निर्माण गरेको तथा तोकिएको परिमाणअनुसार काम नगरेको भन्दै २ वर्षअघि अख्तियारमा उजुरी परेको थियो  । उजुरीमाथि प्रारम्भिक छानबिन गरेपछि अख्तियारले अनुसन्धान अधिकृत नै तोकेर विस्तृत अनुसन्धान गरिरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा जलहरी निर्माण प्रक्रियामा सामेल कोषका पदाधिकारी, सदस्य, कालिगड, भट्ट/पुजारी, सुरक्षाकर्मी लगायतसँग अख्तियारले बयान लिइसकेको छ ।