काठमाडौं । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भइरहेकाे छ । आजको बैठकमा कोशी प्रदेशमा नयाँ सरकार गठन र संसदीय समितिहरुको सभापति चयनका विषयमा छलफल हुनेछ ।
गठबन्धनभित्रको पछिल्लो अवस्थाबारे पनि आजको बैठकमा समीक्षा हुने एक नेताले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीलाई सरकारमा ल्याउने विषयमा भएको छलफलबारे पनि आजको बैठकमा ब्रिफिङ गर्ने बताइएको छ ।
विश्वासको मत पाउन नसक्दा शुक्रबार एमाले नेतृत्वको सरकार ढलेपछि कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।
संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि असार २१ गते साँझ ५ बजेभित्र दाबी पेस गर्न प्रदेश प्रमुख खापुङको आह्वान छ । ९३ सदस्यीय प्रदेशसभामा गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीको एक गरी ४७ सांसद छन् । यसका साथै संसदीय समितिको सभापतिको भागबन्डाका विषयमा छलफल हुने छ । प्रतिनिधिसभामा १० वटा विषयगत समिति र २ वटा संयुक्त समिति छन् । जसमा प्रमुख प्रतिपक्षी एमालेलाई एक संयुक्त समिति र दुई विषयगत समितिको नेतृत्व दिने सहमति भएको थियो ।
यता सत्तारूढ कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाभित्र कुन समिति कसले लिने भनेर भागबन्डा मिलेको छैन । नेताहरूका अनुसार संसद्मा उपस्थितिका आधारमा समितिको नेतृत्व दिने राजनीतिक सहमति भएको थियो । कुन दललाई कुन समिति दिने भन्ने यकिन भएको छैन ।
प्रतिक्रिया