बालुवाटारको जग्गा बेच्नेलाई पनि कारबाही होस् : सांसद खतिवडा

बालुवाटारको जग्गा बेच्नेलाई पनि कारबाही होस् : सांसद खतिवडा



काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा गर्ने प्रकरणमा संलग्न रहेको आरोपमा सरकारले किन्नेहरुलाई मात्रै कारबाही गर्न खोजेको आरोप लगाएका छन् ।

किन्नेलाई मात्र नभएर ललितानिवासको जग्गा बेच्नेलाई पनि कारबाही गर्नुपर्ने उनको माग छ ।

शुक्रबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले भने, ‘बालुवाटार जग्गा प्रकरणमा व्यापारीहरु र केही साना कर्मचारीहरुलाई मात्रै सरकारले ध्यान दिएको देखिन्छ, त्यहाँका ठूला माछाहरुलाई कारबाही होस् । व्यापारीहरुलाई मात्रै होइन, किन्नेलाई मात्रै होइन । सरकारको राजश्व तिरेर किन्ने तिनीहरुलाई कारबाही गर्ने व्यवस्थापन गरेर जग्गा बिक्री गर्ने मुलहरु को हुन् ? तिनीहरुलाई कारबाही व्यवस्था गरोस् ।’

सांसद खतिवडाले ओखलढुङ्गा जिल्लाको चम्पादेवि गाउँपालिका वडा नम्बर ४ मा गत असार ७ गते गएको पहिरोमा परि ४ जनाको मृत्यू भएको र १ सय ५५ घर विस्थापित भएको ठाउँमा आजसम्म सरकार पुग्न नसकेको बताए । उनले सरकार त्यहाँ छिटो पुगेर राहतको प्रवन्ध गर्न अनुरोध गरे ।

सांसद खतिवडाले जिल्लाको पहिरे खोलाले बाटो छेकेर बिरामीहरु उपचार गर्न नपाएको बताए । त्यहाँ कोशी प्रदेश सरकारले टेण्डर गरेको पुल नबनाएर बजेट फिर्ता गरेकोले स्थानियलाई धेरै समस्या भएको बताए । उनले त्यो पुल निमार्ण गर्ने प्रक्रिया अगाडि बढाउन आग्रह गरे ।

उनले बाँदर आतङ्क नियन्त्रण गर्न पनि सरकारसँग माग गरेका छन् ।

त्यसैगरी, खतिवडाले लम्पी स्किनको कारण गोरुहरु मर्दा रोपाइँ प्रभावित भएको बताए । ‘लम्पी स्किन रोगले एउटा सबैतिर प्रभावित बनाएको छ । यो पहाडमा झनै विकराल अवस्था भएको छ,’ उनले भने, ‘गोरु मर्दा पहाडमा खेत नै बाँझो बस्ने अवस्था छ ।’ उनले सरकारले तुरुन्तै उपचारको व्यवस्था मिलाउन आग्रह गरे ।