कांग्रेस केन्द्रीय समिति बैठकमा सदस्यहरुले धारणा राख्ने क्रम जारी

कांग्रेस केन्द्रीय समिति बैठकमा सदस्यहरुले धारणा राख्ने क्रम जारी

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र संविधान संशोधनको विषय उठान



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको दोस्रो दिनको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ । आजको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राखिरहेका छन् ।

कांग्रेस केन्द्रीय समितिको बैठक हिजो (मंगलबार)देखि सुरु भएको थियो । मंगलबारको बैठकमा विभिन्न प्रतिवेदनहरु पेस भएका थिए ।

बैठकमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र संविधान संशोधनको विषय उठान भएको छ । बुधबारको बैठकमा बोल्दै वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले सो विषय उठान गरेका हुन् । बानियाँले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति संकेत गर्दै नयाँ पार्टीको उदय भएको र यसको कारण के हो ? यसको खोज गर्ने कि नगर्ने भन्दै प्रश्न गरे ।

उनले जनताले खोजेको र रोजेको व्यवस्था अहिलेको भए पनि यसमा पनि सुधार आवश्यक भएको उल्लेख गरे ।

“जनताले खोजेको र रोजेको व्यवस्थाभित्र जनताले सुधार खोजेका छन् । निर्वाचन प्रत्यक्ष निर्वाचन प्रणालीमा जानुपर्ने हो कि ? संविधान संशोधन गर्नुपर्ने हो कि ?,” उनले भने, “संघीयता पहिचान र प्रतिस्पर्धा हो, संसारको उत्कृष्ट संविधान भन्दाभन्दै जनतामा निराशा किन अयो ? नयाँ पार्टीको उदय सुशासनको नारामा टेकेर भएको छ । हामीले त्यसतर्फ ध्यान दिनुपर्छ कि ?” उनले पार्टीले प्रदेश समितिलाई उपेक्षा गरेको पनि बताए ।

मंगलबार महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक विषय, नीति महाधिवेशनको मिति, सांगठनिक कार्ययोजना र कार्यतालिका, यसअघि कार्यसम्पादन समितिको निर्णय प्रस्ताव अनुमोदन, निर्वाचन परिचालन समितिको प्रतिवेदनमाथि केन्द्रीय समितिमा छलफलको एजेन्डा छ बैठकमा पेस गरेका थिए । यस्तै महामन्त्री गगन थापाले ‘विधान कार्यान्वयन र पार्टी सुदृढीकरणका सन्दर्भमा’ कार्यतालिका पेस गरेका थिए ।

यस्तै बैठकमा नेता गोपालमान श्रेष्ठले निर्वाचन परिचालन समितिका तर्फबाट प्रतिवेदन पनि पेस गरेका थिए भने केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाले अनुशासन उजुरीबारे जानकारी गराएका थिए ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संसदका कामकारबाहीबारे जानकारी गराए भने आजको बैठकमा उपप्रधान एवं रक्षामन्त्री समेत रहेका उपसभापति पूर्णबहादुर खड्काले सरकारबारे बिफ्रिङ गरेका थिए ।

ती प्रतिवेदनहरुमाथि आज केन्द्रीय सदस्यहरुले धारणा राख्दै छन् ।