महामन्त्रीको प्रस्ताव एनजीओको ‘विसलिस्ट’ जस्तो लाग्यो : आरजु राणा

महामन्त्रीको प्रस्ताव एनजीओको ‘विसलिस्ट’ जस्तो लाग्यो : आरजु राणा



काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्रीहरूले पेश गरेको प्रस्ताव एनजीओको ‘विसलिस्ट’ जस्तो रहेको टिप्पणी गरेकी छन् । केन्द्रीय समितिकाे शुक्रबारको बैठकमा बोल्दै उनले कांग्रेस देशको एजेनडा सेट गर्ने पार्टी भएपनि महामन्त्रीहरूको प्रस्तावमा त्यस्ता दुरगामी एजेन्डाहरू नआएको बताइन् ।

‘कांग्रेस भनेको यो देशमा एजेन्डा सेट गर्ने पार्टी हो । नेपालको अर्थतन्त्र कस्तो हुने, समाजलाई कता लैजाने, राजनीतिलाई कुन दिशातिर लैजाने भन्ने एजेन्डा सेटिङ गर्ने पार्टी हो । तर यसपटकको महामन्त्रीहरूको प्रतिवेदनमा देशलाई दरगामी असर राख्ने त्यस्तो एजेन्डा देखिएन,’ उनले अघि भनिन्, ‘महामन्त्रीहरूको प्रतिवेदनचाहिँ एउटा राजनीतिक दस्तावेज हुन्छ होला भन्ने सोचेको थिएँ, तर उहाँहरूले ल्याउनुभएको प्रस्ताव राजनीतिक दस्तावेज भन्दा पनि एउटा एनजीओको ‘विसलिस्ट’ जस्तो लाग्यो ।’

उनले धेरै कार्यक्रम गरेर थोरै उपलब्धि प्राप्त हुनुभन्दा थोरै कार्यक्रम गरेर धेरै उपलब्धि लिने उद्देश्य लिनुपर्ने बताइन् । ‘धेरै कार्यक्रम गर्ने योजनाहरू आए । तर ती कार्यक्रमको उपलब्धि के हो ? त्योचाहिँ प्रष्ट छैन । बरु तीन चार वटा कार्यक्रम गरौं, ठोस कार्यक्रम गरौं भन्ने मेरो प्रस्ताव छ,’ उनले भनिन् ।

उनले मुलुकमा सुशासन कायम गर्ने विषयमा पार्टीका नेताहरू पूर्वप्रशिक्षित हुनुपर्ने बताइन् ।

केन्द्रीय सदस्य रमेश लेखकले वर्तमान सत्ता गठबन्धनलाई सफल बनाउनु पार्टीको अहिलेको आवश्यकता भएको बताएका छन् । जारी बैठकमा उनले गठबन्धनकै जगमा कांग्रेस पहिलो दल भएको भन्दै यसको राजनीतिक नेतृत्व पनि कांग्रेसले गरिरहेको बताए ।

“एउटा ठूलो उपलव्धी गरेका छौं । नेपाली कांग्रेस तीन तहको सरकारमा सबैभन्दा ठूलो पार्टी भएको छ,” लेखकले भने, “यो गठबन्धनको राजनीतिक नेतृतव कांग्रेसले गरेको छ । यो गठबन्धनको स्थिरता र स्थायीत्वका लागि के निर्णय गरेर जान्छौं त्यसले पनि ठूलो अर्थ राख्छ ।”

लेखकले अहिलेको सत्ता गठबन्धनलाई जनता र राष्ट्रलाई जोड्ने विषयमा कांग्रेस बैठकमा निर्णय हुनुनर्ने बताए ।

त्यसैगरी, ज्ञानेन्द्र कार्कीले विपक्षीहरू आक्रामक भए पनि नेपाली कांग्रेस अलमलमा रहेको टिप्पणी गरेका छन् । बैठकमा बोल्दै नेता कार्कीले पार्टीको अहिलेको अवस्था के हो ? भनेर बुझ्दै पार्टीलाई एकताबद्ध बनाएर लैजानुको विकल्प नभएको बताए ।

उनले कांग्रेसको सभापति व्यक्ति नभएर संस्था भएको भन्दै सभापतिलाई कमजोर बनाउने मानसिकता कसैको भए आजैका मितिबाट त्यो मानसिकता त्याग्नुपर्ने बताए ।

‘म अहिले नाम लिन चाहन्नँ , तर हाम्रा विपक्षीहरू निकै आक्रामक ढङ्गले मैदानमा ओर्लेका छन् । हामी अलमलमा छौ’, उनले यस्तो अलमलले उल्टो बाटो हिँडिरहेको हो कि भन्ने चिन्ता र चासो सर्वत्र रहेको बताए ।

केन्द्रीय सदस्य सरिता प्रसाईंले विश्वविद्यालयका पदाधिकारी र राजदूत नियुक्त गर्दा राजनीतिक भागबण्डाको आधारमा गर्न नहुने बताएकी छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा उनले यसले बाहिर पार्टीको छवि राम्रो नगएको बताइन् । उनले राजदूतमा पार्टीको मान्छे नियुक्त गर्नैपरे योग्य र क्षमतावान् व्यक्ति नियुक्त गर्न आग्रह गरिन् ।

केन्द्रीय सदस्य प्रसाईंले उपनिर्वाचनको हार कांग्रेसलाई सुध्रने अवसर भएको बताइन् । जनताले तिमीहरू सुध्रेर आऊ नभए हामी साथमा नरहन सक्छौं भन्ने सन्देश निर्वाचनको परिणामले दिएको उनको भनाइ छ ।

उनले ललितानिवास, भुटानी शरणार्थी, एक क्विन्टल सुन प्रकरणलगायता भ्रष्टाचारमा निर्मम तरिकाले छानबिन गर्न कांग्रेसले सरकारलाई दबाब र सहयोग गर्नुपर्ने बताइन् ।

केन्द्रीय सदस्य राजीव ढुंगानाले कांग्रेसले जनताका दुःख देखेका दिन जनताले आफैँ कांग्रेसलाई बहुमत दिएर जिताउने बताएका छन् । बैठकमा बोल्दै उनले तीन तहको सरकारमा रहेको कांग्रेसले अहिले पार्टीको भविष्यबारे सोच्नेबेला नभएको बताए ।

‘अहिले हामी केन्द्रीय समिति बैठकबाट लाइभमा छौँ, हामीलाई जनताले हेरिरहेका छन् । हामी यो बैठकमा पार्टीको मात्रै होइन, आजको दिनमा जनताले भागिरहेका समस्या समाधानको विषयमा पनि बोलौँ, बैठक लम्ब्याऔँ, तर गम्भीर भएर छलफल गरौँ,’ ढुंगानाले भने, ‘कांग्रेस ठूलो पार्टी होस् कि सानो पार्टी होस्, जनतालाई चासो छैन । जनतालाई त कांग्रेसले हाम्रो समस्याबारे बोल्छ कि बोल्दैन ? कसले बोल्छ ? भन्ने चासो छ । तपाईंहरू ढुक्क हुनुहोस्, कांग्रेसले जनताका पक्षमा काम गरेका दिन जनताले आफैँ बहुमत दिन्छन् ।’

केन्द्रीय सदस्य जीतजंग बस्नेतले बैठकमा बोल्दै सुन प्रकरणमा एमाले अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री श्रेष्ठ, माओवादी नेता कृष्णबहादुर महराको नाम आएको बताए ।

नक्कली शरणार्थी प्रकरणमा कांग्रेसका नेताहरु गृहमन्त्री श्रेष्ठलाई बधाई दिन गएको सन्दर्भ निकाल्दै उनले भने, ‘केही साथीहरु गृहमन्त्रीकहाँ जानुभएको थियो । आज जाऔं न, गृहमन्त्रीको नाम आएको छ । म पनि जान्छु । उहाँको राजीनामा माग्न जाऔं ।’